दुहबीबाट हराएकी नाबालिका विराटनगरमा भेटिइन्, बन्धक बनाउने ३ जना पक्राउ

बुधबार, १६ साउन २०८१
विराटनगर । सुनसरीको दुहबीबाट हराएकी एक नाबालिकालाई विराटनगरमा बन्धक बनाएर राखिएको अवस्थामा भोलिपल्ट फेला पारिएको छ । बन्धक बनाएर राखेको ठाउँबाट प्रहरीले नाबालिकालाई बुधवार बिहान सकुशल उद्धार गरेको छ । बन्धक बनाएर राख्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । दुहबी नगरपालिका–१० डुम्राहाकी ६ वर्षीया नाबालिका मङ्गलवार दिउँसो ३ बजेतिर हराएकी थिइन् । मामाघरमा खेलिरहेका बेला बालिका बेपत्ता भएको जानकारी अभिभावकले इलाका प्रहरी कार्यालय दुहबीमा गराएका थिए । त्यस लगत्तै इन्स्पेक्टर मोहन पोखरेल नेतृत्वको टोलीले खोजी तीव्र पारेको थियो । सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीका अनुसार विराटनगर महानगरपालिका–६ का ५० वर्षीय सञ्जय पासवानले खेलिरहेको अवस्थामा नाबालिकालाई उठाएर अभिभावकको मन्जुरी बिना नै लिएर गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सञ्जयले अभिभावकको अनुमति नलिईकन दुहबीबाट नाबालिकालाई ल्याएर विराटनगर–१० स्थित आफन्तको डेरामा बन्धक बनाएर राखेको जानकारी भण्डारीले दिए । विराटनगर–१० मा सञ्जयका आफन्त ५० वर्षीय कलानन्द पासवान र ४० वर्षीया सरिता पासवान डेरा बस्छन् । डेरा बसेकै कोठामा बालिकालाई रातभर बन्धक बनाएर राखिएको प्रहरीले जनाएको छ । इप्रका दुहबी, जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले बुधवार बिहान ६ बजेतिर बालिकालाई फेला पारेर सकुशल उद्धार गरेको डिएसपी भण्डारीको भनाइ छ । उनका अनुसार सञ्जयका आफन्त डेरा बसेकै कोठाबाट नाबालिकालाई उद्धार गरिएको हो । अभिभावक र आफन्त कोही कसैलाई पनि नसोधीकन नाबालिकालाई सञ्जयले लगेका थिए । नाबालिकाकी ठुलीआमा र सञ्जयबिच प्रेम सम्बन्ध रहेको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार नाबालिकाकी ठुलीआमा वैदेशिक रोजगारीका लागि जानलाई काठमाडौँमा गएकी थिइन् । उनलाई विदेश जानबाट रोक्नका लागि ‘बार्गेनिङ’ गर्न सञ्जयले नाबालिकालाई लिएर गएको पाइएको प्रहरीको भनाइ छ । नाबालिकालाई लिएर गएपछि सञ्जयले पीडितका मामालाई फोन गरेका थिए । ‘तेरो भान्जी मेरो कब्जामा छ । दिदीलाई घर बोलाउने भए फिर्ता ल्याइदिन्छु । होइन भने अरूलाई नै दिन्छु’ भनेर सञ्जयले नाबालिकाको मामालाई फोन गरेको प्रहरीले जनाएको छ । नाबालिकाकी ठुलीआमालाई विदेश जान नदिने र आफूसँगै राख्ने योजना बनाएर सञ्जयले नाबालिकालाई आफ्नो कब्जामा लिएको प्रहरीको भनाइ छ । प्रहरीले नाबालिकाको उद्धार गर्नुका साथै उनलाई कब्जामा लिने सञ्जयसहित उनका आफन्तहरू कलानन्द र सरितालाई पक्राउ गरेको छ । पक्राउ परेका विरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउने प्रहरीको तयारी छ । उनीहरुविरुद्ध अदालतबाट बुधवार ५ दिनको म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको डिएसपी भण्डारीले बताए । इलाका प्रहरी कार्यालय दुहबीका इन्स्पेक्टर मोहन पोखरेल नेतृत्वको टोलीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार