खानेपानी महसुल वृद्धिविरुद्ध दिनभर अशान्त बन्यो धरान

विहीबार, २४ साउन २०८१
निशा राई/धरान : खानेपानी महसुल वृद्धिविरुद्ध बिहीबार दिनभर धरान अशान्त बनेको छ । धरान उपमहानगरको गेट अगाडि धर्ना दिन भेला भएका स्थानीयबासी, धरानका १० राजनीतिक दलसहित विद्यार्थीहरूले आन्दोलन चर्काएपछि दिनभर अशान्त बनेको हो । खानेपानी महसुलमा नौ हजार नौ सय प्रतिशतसम्म मूल्य वृद्धि गरेपछि आक्रोशित उपभोक्ताहरूले बिहीबार (आज) उपमहानगरको गेट अगाडि धर्ना दिएका थिए । खानेपानी बोर्डको अध्यक्षसमेत रहेका उपमहानगरका नगर प्रमुख हर्कराज राईले एकलौटी रूपमा मूल्य वृद्धि गरेको भन्दै धरानका जनप्रतिनिधि, राजनीतिक दलहरू गत साउन ११ गतेदेखि आन्दोलनरत छन् । साउन ११ गते मौन जुलुस निकालेर वृद्धि भएको महसुलको बिल पुरानै दरमा कायम गर्न आन्दोलन शुरु गरेको थियो । आक्रोशित प्रदर्शनकारीहरू नगरप्रमुखविरुद्ध मुर्दावादको नारा लगाउँदै वृद्धि भएको महसुल घटाउन दबाब दिएका थिए । आन्दोलनले उग्ररूप लिएपछि विद्यार्थीहरू पनि आन्दोलनरत बनेका थिए । आन्दोलनरत पक्ष र सुरक्षाकर्मीबीच झडप हुँदा केही विद्यार्थीसहित प्रहरीहरू घाइते बनेका छन् । धरान खानेपानी व्यवस्थापन बोर्डको कार्यालयमा राजनीतिक दलहरूसहित स्थानीय उपभोक्ताहरूले गत आइतबार तालाबन्दी गरेका थिए । तर, उच्च अदालत विराटनगरले मंगलबार ताला खोल्न आदेश दिएपछि आन्दोलनरत पक्षले बुधबार ताला खोलेका थिए । उच्च अदालतका न्यायाधीश राजेन्द्र अधिकारीले खानेपानीजस्तो संवेदनशील कार्यालयमा तालाबन्दी गर्न नपाइने भन्दै उक्त तालाबन्दी खोल्ने अन्तरिम आदेश दिएका थिए । अदालतको साउन २८ गते पूर्ण फैसलाको लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । दिनभर आन्दोलनले धरान अशान्त बनेपछि नगर प्रमुख साम्पाङले आगामी साउन २७ गते आइतबार ११ बजे वार्ताका लागि आह्वान गरेका छन् । वार्तामा खानेपानीको महसुल पुरानै अवस्थामा हुन माग गरिने, सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम गरिने राजनीतिक दलहरू बताएका छन् । यसअघि धरानका १० राजनीतिक दलहरूले चरणबद्ध आन्दोलनको कार्यक्रमहरू सार्वजनिक गरेका थिए । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, सलोराम सङ्घीय लिम्बुवान मञ्च र राष्ट्रिय साझा पार्टीले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए । खानेपानी व्यवस्थापन बोर्ड ऐन २०६३ अनुसार व्यवस्थापन बोर्डमा ७ जना सदस्य हुने भए पनि नगर प्रमुख साम्पाङले एकलौटी निर्णय गरेको आरोपसमेत लाग्दै आएको छ । यो पनि – धरानमा खानेपानीको महसुल घटाउन माग गर्दै आन्दोलन, उपमहानगरको गेट तोडफोडसमेतको प्रयास यो पनि – खानेपानी बोर्ड धरानको कार्यालयमा लगाइएको तालाबन्दी खोलियो यो पनि – धरान खानेपानी बोर्डमा लगाइएको ताला खोल्न उच्च अदालतले दियो अल्पकालीन अन्तरिम आदेश यो पनि – धरान खानेपानी बोर्डको कार्यालयमा तालाबन्दी, महसुल वृद्धिको विरोधमा दिनभर प्रदर्शन यो पनि – धरानको खानेपानीमा हर्क साम्पाङको राजनीति : अभियन्ता हुँदा विरोध, मेयर भएपछि नौ हजार नौ सय प्रतिशत महसुल वृद्धि

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार