इटहरी (डेस्क) : धरानमा हर्क साम्पाङले दोहोरो चरित्र देखाएका छन् । कुनैबेला अभियन्ता हुँदा उनले धरानको खानेपानीको विषयमा पटकपटक असन्तुष्टि जनाउँदै विरोध जनाएका थिए । अहिले उनै साम्पाङ मेयर भएपछि भने खानेपानीको महसुलमा चर्को शुल्क वृद्धि गरेको भन्दै दलहरू आन्दोलित बनेका छन् ।
कुनैबेला अभियन्ता हुँदा धरानमा खोनपानी समस्या भएको र त्यसलाई समाधान गर्नुपर्ने माग राख्दै आएका साम्पाङले आफू अभियन्ता हुँदा खानेपानी बोर्डका कार्यकारी निर्देशकराजु पोखरेललाई ‘हप्काएको’ भिडियोसमेत भाइरल भएको थियो ।
साम्पाङ अभियन्ता नै रहँदा ०७७ सालमा धरानमा तिलक राई मेयर थिए । त्यसबेला साम्पाङले खानेपानीको शुल्क घटाउनुपर्ने र पानीको समस्या समाधान गर्नुपर्ने माग राख्दै ज्ञापनपत्रसमेत बुझाएका थिए । तर, अहिले उनै अभियन्ता हर्कराज राई (हर्क साम्पाङ) मेयर भइसकेपछि भने धरानमा खानेपानीको महसुल अचाक्ली बढाएको भन्दै राजनीतिक दलहरू आन्दोलित छन् ।
धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहेका नगर प्रमुख साम्पाङले चालू आर्थिक वर्षबाट खानेपानी महसुललगायत वृद्धि गरेपछि यसबारे गत शुक्रबार यहाँका १० राजनीतिक दलहरूले ७२ घण्टे अल्टिमेटम दिएका थिए । तर, राजनीतिक दलहरूको अल्टिमेटमलाई भने साम्पाङले बेवास्ता गर्दै आएका छन् ।
१० राजनीतिक दलले शुक्रबार बोर्डलाई बुझाएको संयुक्त ज्ञापन–पत्रमा ११ प्रतिशतदेखि नौ हजार नौ सय प्रतिशतसम्म शुल्क वृद्धि गरेको दाबी गरेका थिए । बोर्डले खानेपानीको पाइपको साइजअनुसार नयाँ धारा जडानदेखि सिफारिसमा, मालसामान मर्मत तथा चेन्जमा, धारा नामसारीमा र धाराको होल चेन्जमा महसुल वृद्धि गरेको हो ।
खासगरी धरानमा २०७४ सालमा कायम भएको खानेपानीअन्तर्गतका विभिन्न शुल्क र हाल कायम भएको नयाँ शुल्कमा ४० रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्म वृद्धि गरेको पाइएपछि विरोध जनाउन बाध्य भएको राजनीतिक दलहरूको भनाइ छ ।
यसैगरी नयाँ धारा जडानमा पाँच हजार रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्म वृद्धि गरिएको छ । हाफ इन्चको पाइपमा नयाँ धारा जडान गर्दा १५ हजार रुपैयाँ रहेकोमा हाल आएर २० हजार रुपैयाँ वृद्धि गरिएको पाइएको छ ।
राजनीतिक दलहरूले नगर प्रमुख साम्पाङलाई कुनैबेला ‘सडकमा हुँदा सत्ताको विरोध गर्ने साम्पाङ आज सडककै आवाजलाई दबाउन’ खोजिरहेको आरोपसमेत लगाउने गरेका छन् ।
स्वघोषित रूपमा धरान खानेपानी व्यवस्थापन बोर्डको अध्यक्ष बनेकोसमेत आरोप खेप्दै आएका साम्पाङलेएकलौटी निर्णयमा यहीसाउन १ गतेदेखि लागू हुने गरी ११ प्रतिशतदेखि नौ हजार नौ सय प्रतिशतसम्म खानेपानीको शुल्क वृद्धि गरेको राजननीतिक दलहरूको भनाइ छ ।
खानेपानी महसुललगायतका अन्य विषयमा भएको शुल्क वृद्धिको विरुद्ध धरानका १० राजनीतिक दलहरूले चरणबद्ध आन्दोलनको कार्यक्रमहरू सार्वजनिक गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, सलोराम सङ्घीय लिम्बुवान मञ्च र राष्ट्रिय साझा पार्टीले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।
कांग्रेस धरान नगर सभापति श्याम पोखरेलले मंगलबारदेखि चरणबद्ध आन्दोलन गर्ने बताए । उनले दलहरूले सरोकारवालासँग छलफल गर्ने र २० गते खानेपानी बोर्डमा धर्ना बस्ने बताए । ‘अब धराने जनताहरू वडा वडाबाटै स्वस्फूर्त निस्किदैँछन्,’ उनले भने,‘२० गते खानेपानी बोर्डमा धर्ना दिन्छौँ । माग सुनुवाइ भएन भने धर्नाको कार्यक्रम रेगुलर पनि जान सक्छ ।’
उनका अनुसार साउन १७ गते विभिन्न सरोकारवाला संघसंस्थाहरूसँग अन्तरक्रिया कार्यक्रम हुनेछ । साउन १८ गते सबै वडा कार्यालयहरूमा वडास्तरबाट ध्यानाकर्षण पत्र बुझाउने र साउन २० गते धर्ना कार्यक्रम आयोजना हुनेछ ।
‘असार मसान्तसम्म खानेपानीको जुन दर थियो, त्यही कायम नगरेसम्म आन्दोलन भइरहनेछ,’ उनले भने,‘कुनैबेला खानेपानीको धारा नामसारी गर्दा दुई सय थियो । पछि बढेर १५ सय हुँदै दुई हजारसम्म पुग्यो । अहिले २० हजारसम्म पु¥याएको अवस्था छ ।’
उनका अनुसार खानेपानी बोर्डले कीर्तेसमेत गरेको छ । साउन २ गते बोर्डले सूचना टाँस गरी महसुल वृद्धि गरेको जनाएको थियो । ११ गते दलहरूले ज्ञापनपत्र बुझाएसँगै सोही दिन नामसारीमा भने ५० प्रतिशतसम्म छुट गर्ने जनाएपनि २ गतेकै मिति र सोही चलानी नम्बर प्रयोग गरी सूचना टाँस गरिएको पोखरेलले बताए ।
‘११ गते हामी जाँदा छुटको सूचना थिएन, ज्ञापनपत्र बुझाएपछि २ गतेकै मिति राखी चलानी नम्बर पनि सोही अनुसार राखेर कीर्ते कागज बनाइयो,’ उनले भने । बोर्डका कार्यकारी निर्देश राजु पोखरेलद्धारा हस्ताक्षर गरिएको सूचनामा बोर्डले खानेपानी महसुल र धारा जडान, नामसारी सम्बन्धी नयाँ शुल्कबारे जानकारी दिएको छ ।
साउन २ गते कार्यालयमा सर्वसाधारणका लागि टाँस गरिएको सूचनामा मृतकको नामबाट धारा नामसारी गर्दा छुटको कुरा कतै उल्लेख नगरिएपनि बोर्डले पछिल्लोपटक भने ‘मृतकको नामबाट धारा नामसारी गर्दा ५० प्रतिशत छुट हुनेछ’ भनेर थप गरेको पोखरेलले बताए ।
नेकपा एमाले धरान नगर अध्यक्ष हर्कजंग एभेङले खानेपनीको महसुल नघटाएसम्म आन्दोलन जारी राख्ने बताए । उनले हिउँदको समयमा धरानमा खानेपानीको चरम अभाव हुने, मेयर साम्पाङ सामाजिक सञ्जालमै रमाउने तर अहिले भने खानेपानीको मूल्यमा अचाक्ली महसुल बढाउनुले धराने जनताको हितविपरीत काम भएको बताए ।
शुल्क वृद्धिको विषयमासुनसरी उद्योग वाणिज्य संघलेसमेत आपत्ति जनाएको छ । संघका अध्यक्ष विजय श्रेष्ठद्धारा जारी विज्ञप्तिअनुसार खानेपानी व्यवस्थापन बोर्डले अवैधानिक रूपमा अत्यधिक महसुल वृद्धि गरेकाले फिर्ता लिन आग्रह गरिएको छ ।
‘शुल्क वृद्धिले उपभोक्ताहरूलाई विद्यमान आर्थिक मन्दीको समयमा खानेपानी महसुल वृद्धिले आर्थिक भार थुपार्ने काम गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
खानेपानी व्यवस्थापन बोर्ड ऐन २०६३ अनुसार व्यवस्थापन बोर्डमा ७ जना सदस्य हुने भएपनि नगर प्रमुख साम्पाङले एकलौटी निर्णय गरेको आरोपसमेत लाग्दै आएको छ ।
Discussion about this post