निशा राई/धरान : धरानमा महसुल वृद्धि गरिएको भन्दै खानेपानी बोर्डमा तालाबन्दी गरिएको छ । आइतबार दिनभर प्रदर्शन गर्दै धरानका राजनीतिक दल तथा स्थानीय उपभोक्ताहरूले बोर्डको कार्यालयमा तालाबन्दी गरेका हुन् । खानेपानी बोर्ड धरानका कार्यकारी निर्देशक राजु पोखरेलको कार्यकक्षमा तालाबन्दी गरिएको हो ।
धरानमा खानेपानी महसुलमा ११ प्रतिशतदेखि नौ हजार नौ सय प्रतिशतसम्म वृद्धि गरेको भन्दै शुक्रबारदेखि चरणबद्ध आन्दोलनको घोषणा गरिएको थियो ।
गत साउन ११ गते मौन जुलुस निकाल्दै ७२ घण्टाभित्र खानेपानीको महसुल पुरानै दरमा कायम राख्न माग गरिएको थियो । तर, हालसम्म खानेपानीको मूल्यवृद्धि फिर्ता नभएका कारण उपभोक्ताहरू सडकमा उत्रिएका हुन् । आइतबार संघर्ष समितिको आह्वानमा धरान १ सिंहदेवी चोकदेखि छाता चोक हुँदै खानेपानी बोर्डसम्म खानेपानी महसुल वृद्धिविरूद्ध विरोध गरिएको थियो ।
‘जनता ठग्न र मार्न पाईदैन,’ ‘खानेपानी बोर्डको हिसाब सार्वजनिक गर,’ ‘जन विरोध निर्णय खारेज गर,’ ‘जनता लुट्न बन्द गर,’ ‘नौ हजार नौ सय प्रतिशत शुल्क वृद्धि खारेज गर’ लगायतको प्ले कार्डसहित विरोध जनाइएको थियो ।
खासगरी धरानको मुख्य समस्या खानेपानीको समस्या समाधान गर्ने मुद्धा लिएर चुनाव जितेका स्वतन्त्र मेयर हर्क साम्पाङ अहिले भने आफैँ आलोचित बन्दै आएका छन् । धरानमा खानेपानीको समस्या चुनौतीको रूपमा रहेको छ ।
बोर्डको बैठक नबसी एकलौटी रूपमा नगर प्रमुख साम्पाङले खानेपानीको महसुल बढाएको आरोप लागेको छ । कांग्रेस धरान नगर सभापति श्याम पोखरेलले खानेपानी व्यावस्थापन बोर्डको कार्यकारी समितिको बैठक नै नबसी गैरकानुनी रूपमा महसुल वृद्धि गरिएको भन्दै फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने बताए ।
नयाँ धारा जडान न्यूनतम ३३ देखि तीन सय प्रतिशतसम्म, होल चेन्ज एक सय ५० देखि दुई सय ८० प्रतिशतसम्म, नामसारी मृतकबाट दुई हजार चार सय प्रतिशतदेखि नौ हजार नौ सय प्रतिशतसम्म महसुल बढाइएको उनले बताए । यसैगरी मर्मत तथा चेक एक सय देखि १९ सय प्रतिशतसम्म, महसुल ११ देखि दुई सय प्रतिशतसम्म, निवेदन दस्तुर चार सय प्रतिशत र जलाधार संरक्षण शुल्क नयाँ थप गरिएको छ ।
मृतकको नाममा रहेको धारा नामसारीजस्तो मानवीय संवेदना जोडिएको विषयमा यसरी एक हजार नौ सय देखि नौ हजार नौ सय प्रतिशत शुल्क वृद्धिले अचाक्ली ढाड सेकेको बताए । जनता समाजवादी पार्टी धरान सभापति चाजुव लिम्बूका अनुसार महसुल हचुवाको भरमा बढाइएको र फिर्ता नलिएसम्म आन्दोलन जारी रहनेछ ।
बढुवा भएको खानेपानीको बिल धराने जनताहरूले अनुमोदन गर्न नहुने उनले बताए । नेकपा एमाले धरानका अध्यक्ष हर्कजङ एभेङले अब कसैले पनि खानेपानीको बिल तिर्न नहुने भन्दै फिर्ता नलिएसम्म आन्दोलन जारी रहने चेतावनी दिए ।
आइतबारको विरोध कार्यक्रममा पूर्व सांसद जयकुमार राई, धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्र विक्रम बेघा, माओवादी केन्द्र धरान अध्यक्ष सर्वजित राई, नेकपा एकीकृत समाजवादी धरानका अध्यक्ष रेवतीरमण राई, लगायत १० दलका प्रतिनिपधहरू सहभागी थिए ।
Discussion about this post