‘एसियन हाइवे’ : इटहरीमा तीनवटा ‘ओभरपास’ बन्ने, कहाँ पुग्यो काम ?

शनिबार, २६ साउन २०८१
इटहरी : निर्माणाधीन एसियन हाइवेको भौतिक प्रगति हालसम्म पाँच प्रतिशत भएको छ । तीन वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने सडक निर्माणको काम हालसम्म पाँच प्रतिशत सम्पन्न भएको हो । काँकडभिट्टा–लौकही सडक आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका सूचना अधिकारी इन्जिनियर पल्लव श्रेष्ठकाअनुसार रूख कटानको काम सकिएको र अहिले विद्युतको पोल हटाएर ‘साइड क्लियरेन्स’को काम भइरहेको छ । काँकडभिट्टादेखि लौकहीसम्म बन्ने भनिएको सडक अहिले इटहरीको लबीपुरसम्म बन्नेछ । ९५ दशमलव ७६ किमी सडक पाँच खण्डमा काम हुने आयोजनाले जनाएको छ । जसअनुसार प्योकज १, २ र ३ मा सडक निर्माणको काम हुनेछ भने प्याकेज ४ र ५ मा भने पुल निर्माणको काम हुने श्रेष्ठले जानकारी दिए । अहिले इटहरी खण्डमा भने ‘ओभरपास’सहित सडक बन्ने तयारी भइरहेको उनको भनाइ छ । ‘इटहरी खण्डमा बूढी खोलादेखि लबीपुरसम्म तीनवटा ओभरपास बन्नेछ,’ उनले भने, ‘इटहरी चोकमा एउटा ओभरपास बन्नेछ । जहाँ इष्ट वेस्ट हाइवे अन्तर्गत सवारी साधन माथिबाट सञ्चालन हुनेछ भने नर्स साउथको क्रसिङ तलबाट हुन्छ ।’ उनका अनुसार इटहरी चोकमा एउटा, इटहरी चोकभन्दा पूर्वतिर तालतलैया जाने क्षेत्रमा अर्को र पश्चिमतर्फ पचरुखीमा अर्को ओभरपास बन्नेछ । ‘आरइ वाल कन्स्ट्रक्सन’ गरेर ‘ओभरपाास’ बन्ने उनले बताए । खासगरी इटहरी चोकमा भने ४२ मिटरको चौडाई र साढे ५ मिटरको उचाईमा ‘ओभरपास’ बन्ने उनले जनाए । ‘पूर्वतिर र पश्चिमतिर भने १३ मिटर चौडाई र साढे ५ मिटर हाइटको ओभरपास बन्नेछ,’ उनले भने, ‘दुवैतिर साढे ६ मिटरको सर्भिस लेन, साढे ५ मिटरको फुटपाथ र साइकल लेन र बिचमा साढे ३३ मिटरको सडक गरी ५० मिटरमा काम भइरहेको छ ।’ यसैगरी ‘एसियन हाइवे’ अन्तर्गत इटहरीमा तीनसहित झापाको चारआली, बिर्तामोड, चारपाने, मोरङको बलियामा ‘ओभरपास’ बन्नेछन् । यो प्रोजेक्टमा मुआब्जाको लफडा नरहेको र ‘साइड क्लियरेन्स’मा पनि समस्या नभएका कारण तोकिएको अवधिमै निर्माणको काम सम्पन्न हुने उनले बताए । उनका अनुसार तीन वर्षको समयावधि तोकिएर ६ महिनायता सडक निर्माणको काम भइरहेको छ । इन्जिनियर श्रेष्ठले भने, ‘समय लम्बिने, समयमा काम नहुने भन्ने हुँदैन । यो प्रोजेक्टमा साइड क्लियरेन्समा कुनै समस्या छैन । मुआब्जा दिनुपर्ने अवस्था नरहेका कारण पनि द्रुत गतिमा काम हुनेछ ।’ उनका अनुसार पूर्वमा काँकडभिट्टादेखि झापाको सितापुरीसम्म ४५ किलोमिटरको लागि पूर्वी खण्ड छुट्टाइएको छ । जसको काम दमक कार्यालयले गर्छ । त्यहाँयता इटहरीको लबीपुरसम्म ५०।७ किलोमिटरको लागि पश्चिम खण्ड भनेर छुट्टाइएको छ । जुन काम भने इटहरी कार्यालय मातहतले गर्दै आएको छ । काँकडभिट्टादेखि लौकहीसम्म ५२ वटा पुल रहेका कारण हाल पुलमा पनि ‘फाउन्डेसन पाइलिङ’को काम भइरहेको उनको भनाइ छ । प्याकेज ३ अन्तर्गत मोरङको गोठगाउँदेखि इटहरीको लबीपुरसम्म पर्छ । एसियन हाइवेको डिजाइन ‘स्पिड’ भने प्रतिघण्टा एक सय किलोमिटर रहेको र अहिले ‘कन्स्ट्रक्सन फेज’मा रहेको इन्जिनियर श्रेष्ठले बताए । उनका अनुसार हालसम्म पाँच प्रतिशत भौतिक प्रगति र पाँच प्रतिशत वित्तीय प्रगति भएको छ । काँकडभिट्टा–लौकही सडक आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले निर्माणका क्रममा कतिपय स्थानमा बिजुलीको खम्बा सार्ने र सडक निर्माणको कामसँगै गर्नुपर्ने अवस्था रहेको बताए । उनका अनुसार तीन वर्गमा निर्माण हुने उक्त सडक बजार क्षेत्र, जङ्गल क्षेत्र र ग्रामीण क्षेत्र भनेर छुटाइएको छ । बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाईको सडक निर्माण हुने प्रजापतिले बताए । ‘तीन वर्षमा पूरै निर्माण सक्नुपर्ने गरी काम भइरहेको छ । बजार क्षेत्रमा दुवैतर्फ सर्भिस लेन एक–एक लेनको सडक हुँदा ६ लेनको हुनेछ । जङ्गल क्षेत्रमा भने चार लेनको सडक निर्माण हुनेछ’, उनले भने । सहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुनेछ । ६ स्थानमा ‘सिग्नेचर’ पुल निर्माण हुनेछन् । नेपालको कालिका र तुङ्गी कन्स्ट्रक्सन चाइनिज कम्पनीले जोइन्डमा सडक निर्माण गर्नेछन् । हाल धमाधम ‘साइड क्लियरेन्स’ भइरहेको बताइएको छ । खासगरी एसियाली विकास बैङ्कको ऋण सहयोग र नेपाल सरकारसँगको साझेदारीमा उक्त सडक निर्माण भएको हो । जसमा एसियाली विकास बैङ्कले ८४।१ प्रतिशत ऋण सहयोग गरेको छ भने १५।९ प्रतिशत रकम भने नेपाल सरकारको रहेको छ । कुल ३४ अर्ब ९१ करोडमा काँकडभिट्टादेखि लौकहीसम्म सडक बन्नेगरी सम्झौता भएको हो । पूर्वी र पश्चिम गरी दुई खण्डमा बन्न लागेको यो आयोजना एसियन हाइवेको एउटा भाग हो । थाइल्यान्डको बैंककबाट सुरु भएको हाइवे म्यानमार, बङ्गलादेश, भारत हुँदै नेपालको पूर्व–पश्चिम राजमार्ग भएर नयाँ दिल्लीबाट पाकिस्तानको कराँची पुग्नेछ । भारतले पश्चिम बङ्गाल हुँदै नेपालको काँकडभिट्टा नाकासम्म उक्त हाइवे विस्तार गरिसकेको छ । भिडियो

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार