इलाममा निकालियो गाईजात्रा

मंगलबार, ०४ भदौ २०८१
इलाम / पूर्वी पहाडी जिल्ला इलाममा गाईजात्रा निकालिएको छ । नेपाल भाषा तथा संस्कृति समाज इलामले इलाम बजारमा गाई जात्रा निकालेको हो । दिवङ्गत भएका आफन्तहरूको सम्झना तथा मन शान्तिका लागि मङ्गलवार इलाममा यो पर्व मनाइएको जनाइएको छ । पुरुषलाई महिलाको पहिरन लगाइदिएर गाईका रूपमा सिँगारी नगर परिक्रमा गराउने परम्परागत प्रचलन अनुरूप इलाममा पनि गाई जात्रा मनाइएको हो । माई स्थान मन्दिरबाट निकालिएको जात्रा नगर परिक्रमा गराई नारायण स्थान मन्दिरमा लगेर समापन गरिने गरिन्छ । इलाम नगरक्षेत्रका यस वर्षभित्र मृत्यु भएका ९ घर परिवारबाट जात्रा निकालिएको नेपाल भाषा तथा संस्कृति समाज इलामका अध्यक्ष प्रवीण श्रेष्ठले जानकारी दिए । नेपाल भाषा तथा संस्कृति समाज इलामको आयोजना भएको जात्रामा नेवार समुदायका परिवारहरूको उल्लेख्य उपस्थिति रहेको थियो । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरी मनाइन्छ । आजका दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने गरिन्छ । गाईलाई नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ । यो परापूर्वदेखि निकालिँदै आइएको जनाइएको छ । हिन्दु धर्म अनुसार गाईजात्रा पर्वका बारेमा पद्मपुराणमा उल्लेख गरेको पाइन्छ । यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र पृथ्वी लोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतआत्माहरुले यमलोक प्रवेश पाई मुक्ति पाउने गरुड पुराणमा उल्लेख छ ।   ऐतिहासिक प्रमाण अनुसार पुत्र शोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले ‘जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेपछि विभिन्न प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनविश्वास रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार