विराटनगर : विराटनगर रथयात्रामा आपराधिक गतिविधिका एक सय ४३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार विराटनगरमा निकालिएको राधाकृष्ण रथयात्राका क्रममा चोरी र पकेटमारी लगायतका आपराधिक गतिविधिमा संलग्न तथा शंकास्पद गतिविधि गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका एक सय ४३ जनामध्ये १० जना महिला छन् भने बाँकी सबै पुरुष रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख, एसपी नवराज कार्कीका अनुसार उच्छृङ्खल र शंकास्पद गतिविधि तथा चोरी र पकेटमारीमा संलग्नहरूलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याइएको हो ।
‘सबै जनालाई अहिले प्रहरीको नियन्त्रणमा राखिएको छ । थप कुरा बुझेपछि मात्रै कति जनालाई कानुनी कारबाहीको प्रक्रियामा लैजाने भन्ने टुंगो लाग्छ,’ उनले भने, ‘नियन्त्रणमा लिइएकामा केही भारतीय नागरिक पनि छन् । भीडभाडको मौका छोपेर चोरी तथा पकेटमारी गर्ने उद्धेश्यले उनीहरू विराटनगर आएको देखिन्छ ।’ प्रहरी नियन्त्रणमा रहेकाहरुका सम्बन्धमा थप कुरा बुझ्ने काम भइरहेको एसपी कार्कीले बताए ।
रथयात्रालाई लक्षित गरेर ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गर्दै विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको थियो । सुरक्षा सक्रियताकै कारण रथयात्रा भव्य, सभ्य, सुरक्षित र मर्यादित भएको छ ।
एसपी कार्कीले रथयात्रा अवधिभर सादा पोसाक र हतियारसहितका प्रहरी परिचालन गरिएको बताए । उनका अनुसार
सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउँदै भक्तजनको सुरक्षामा ध्यान दिएका कारण रथयात्रामा ठूला घटना हुन नपाएको एसपी कार्कीले बताए ।
प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रामा मंगलबार सयौँ भक्तजनको उपस्थिति रहेको थियो ।
विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिर परिसरबाट राधाकृष्णको युगल जोडीसहितको रथ दिउँसो ३ः३० बजेतिर निकालिएको हो । रथयात्राले बजार क्षेत्रको ९ किलोमिटर यात्रा पूरा गरेको थियो ।
रथयात्रा तीनपैन, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्रचोक, धरान रोड, बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर साँझ समापन भएको छ । यात्राका क्रममा रथलाई ४३ स्थानमा विश्राम गराइएको थियो । रथयात्रा सकिएलगत्तै उत्सवका रूपमा आतसबाजी गरिएको छ ।
प्रतिक्रिया