इटहरी : नेपाल उद्योग परिसंघ सुनसरीले आफ्नो प्रथम वार्षिक साधारणसभा सम्पन्न गरेको छ। उद्योग क्षेत्रका व्यक्तिहरूलाई एउटै मञ्चमा राखेर परिसंघले आफ्नो रणनीति र योजनाहरू प्रस्तुत गरेको हो ।
कार्यक्रममा लेखा समितिका सभापति ऋषिकेश पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि पोखरेलले उद्योग क्षेत्रको विकासका लागि सरकारको सक्रियता अपरिहार्य रहेको बताए ।
उनले भने, ‘उद्योगहरू आर्थिक विकासका प्रमुख आधार हुन्। यसैले सरकार र नीति निर्माताहरूले उद्योगहरूको समस्या समाधानमा प्राथमिकता दिनुपर्दछ।’
परिसंघका अध्यक्ष अनिल अग्रवाल नेपाल उद्योग परिसंघ सुनसरीको लक्ष्य र आगामी दिनमा गर्ने योजनाहरूको बारेमा जानकारी गराए ।
उनले उद्योगहरूको संगठनले मात्र होइन, यसले समग्र उद्योग क्षेत्रको प्रवर्द्धन र विस्तारमा खेल्ने भूमिकालाई पनि उजागर गरे ।
उनकाअनुसार परिसंघले औद्योगिक विकासलाई मात्र होइन, उद्यमशीलतालाई पनि सशक्त बनाउने योजना बनाएको छ । जसले उद्योग क्षेत्रलाई समृद्ध बनाउन महत्वपूर्ण योगदान दिने अग्रवालको दाबी छ ।
दुहबी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारले स्थानीय तह र उद्योगहरूबीचको सहकार्यलाई बलियो बनाउन आवश्यक रहेको बताए। स्थानीय सरकार र उद्योगहरूको बीचमा सहकार्य नहुँदा दीर्घकालीन विकास सम्भव नहुने उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले उद्योगीहरूलाई व्यापारीको रूपमा सीमित नगर्न सुझाव दिए ।
‘उद्योगीहरूलाई उद्यमशीलता विकासमा अग्रसर हुन आवश्यक छ,’ उनले भने, ‘यसका लागि प्रशासनले आवश्यक सबै प्रकारका सुरक्षा र सहयोग प्रदान गर्न सधैं तत्पर रहनेछ।’
उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले उद्योगहरूको संगठनले खेल्ने महत्त्वपूर्ण भूमिकाबारे चर्चा गरे । उनले स्थानीय उद्योगहरूको समग्र विकास र प्रवर्द्धनमा परिसंघले पुर्याएको योगदानको प्रशंसा गरे ।
परिसंघका वरिष्ठ उपाध्यक्ष विनोद अग्रवालले उद्योगहरूको समृद्धिमा नीति निर्माताहरू र सरकारको समर्थन अपरिहार्य रहेकोमा जोड दिए । कार्यक्रममा नेपाल उद्योग परिसंघ सुनसरीका आजीवन सदस्यहरूलाई सम्मानस्वरूप प्रमाणपत्र वितरण गरिएको संस्थाका महासचिव दिवाकर पौडेलले बताए।
उनले सुनसरी जिल्लामा रहेका उद्योगीहरुको पेशागत हकहितका लागि सङठित रुपमा आवाज उठाउने,सरोकारवाला निकायहरु संगको सहकार्यमा औद्योगिक बाताबरण निर्माणमा सहयोग पुर्याउने,उद्यमशिलता क्षमता परिचालन गरि रास्ट्रलाई समृद्धि तर्फ लैजाने काम गर्ने महासचिव पौडेलले बताए ।
साधारणसभामार्फत नेपाल उद्योग परिसंघ सुनसरीले उद्योग क्षेत्रको विकासमा आफ्नो भूमिका अझ सशक्त बनाउँदै लैजाने संकेत दिएको छ।
प्रतिक्रिया