विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानमा मृत भेटिएका नाबालिकाहरूकी आमालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
विष खुवाएर नाबालिका दुई छोरीको हत्या गर्ने आमालाई प्रहरीले अनुसन्धान गरिरहँदा के सजाय हुन्छ भन्ने चासोसमेत बढ्दो छ ।
छोरीहरु १ वर्षीया आइङ्का र ३ वर्षीया अर्पणा कार्कीको हत्यामा संलग्न आमा २१ वर्षीया अस्मिता पौडेल (कार्की)विरुद्ध जिल्ला अदालत मोरङबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ । उनको शारीरिक अवस्था कमजोर रहेको भन्दै उपचारका लागि विराटनगरकै कोशी अस्पतालमा भर्ना गरिएको थियो ।
स्वास्थ्यमा सुधार भएसँगै बिहीबार (आज) डिस्चार्ज गरेर इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको छ । अस्पतालले डिस्चार्ज गरेपछि बेलबारी लगिएकी अस्मितामाथि इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले अनुसन्धानको बाँकी प्रक्रिया अगाडि बढाएको छ ।
मुलुकी अपराध संहिता, २०७४ ले कर्तव्य ज्यान मुद्दामा हुने सजायको व्यवस्था गरेको छ । संहिताको दफा ४१ मा जीवित रहेसम्म कैद सजाय हुने भनिएको छ । उक्त संहिताको दफा ४१ को (क)अनुसार क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेमा र दफा ४१ को (घ) अनुसार सार्वजनिक रूपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेमा कसुरदारलाई जन्मकैद सजाय हुन्छ ।
तर, अभियुक्तलाई आजीवन जेल हुनका लागि अनुसन्धानबाट प्रमाणित भएर मुद्दा त्यही हिसाबले स्थापित हुनुपर्ने हुन्छ । प्रमाणका आधारमा अदालतले मुद्दाको टुंगो लगाउने हो । प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा आमाले अवोध सन्तानलाई निर्ममतापूर्वक मारेको देखिन्छ ।
पेय वा खाद्य पदार्थमा विष मिसाएरै खुवाएको चैं अहिलेसम्म पुष्टि नभएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । ‘अरु खानेकुरामा विष हालेर खुवाएको प्रारम्भिक अनुसन्धानबाट देखिएन,’ उनले भने, ‘तर, विष खुवाएर बच्चाको हत्या गरेको अस्मिता आफैंले स्वीकार गरेकी छन् ।’
यस विषयमा थप अनुसन्धान भइरहेको बस्नेतले बताए । उनका अनुसार अहिलेसम्मको परिस्थितिले अपराध संहिताको दफा ४१ आकर्षित हुने देखिन्छ । उक्त दफाको (क) र (घ) आकर्षित भएमा नाबालिका दुई छोरीको हत्यामा संलग्न अस्मितालाई जीवित रहेसम्म जेल सजाय हुन्छ ।
तर, सबै कुरा तथ्यबाट स्थापित गर्नुपर्ने भएकाले विभिन्न कोणबाट अनुसन्धान हुने डीएसपी बस्नेतको भनाइ छ । संहिताको दफा ४२ मा जन्मकैदको गणनालाई व्याख्या गरिएको छ । दफा ४१ मा उल्लिखित अवस्थाबाहेक जन्मकैदको सजाय गणना गर्दा २५ वर्ष कैद सजाय हुने गरी गणना गर्नुपर्ने दफा ४२ मा उल्लेख छ ।
अनुसन्धान अधिकारीहरू अनुसन्धानको तथ्य र प्रमाणका आधारमा कस्तो सजाय हुन्छ भनेर निर्धारण हुने बताउँछन् । अस्मितालाई जीवित रहेसम्म जेल नभएको खण्डमा जन्मकैद (२५ वर्ष) हुनसक्ने प्रहरी अधिकारीहरू बताउँछन् ।
मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की भन्छन्, ‘आमा आफैंले जन्मदिएको बच्चालाई मार्छिन् भन्ने कुरा कल्पनाभन्दा बाहिरको विषय हो । पतिसँगको रिसले विष खुवाएर नाबालिका छोरीहरूको ज्यान लिएको देखिन्छ ।’
अभियुक्तविरुद्ध कुन सजायको माग दाबी गर्ने भन्ने कुरा अनुसन्धानपछि मात्रै यकिन हुने उनले बताए । उनले थपे, ‘सबै कुरालाई तथ्य र प्रमाणले पुष्टि गर्न सक्नुपर्छ । घटनाको विस्तृतमा अनुसन्धान हुन्छ ।’
अस्मिताले श्रीमान अर्जुन कार्कीसँगको रिसका कारण दुई नाबालिका छोरीको हत्या गरेको एसपी कार्कीले जानकारी दिए । सुन्दरहरैँचा–७ का नारायण न्यौपानेको केराघारीभित्र दिदीले बहिनीलाई अँगालो हालेको अवस्थामा शनिबार दिउँसो शव भेटिएको थियो ।
प्रहरीका अनुसार विष खुवाएर छोरीहरू मारेपछि अस्मिता भौतारिएर हिँडेकी थिइन् ।
फरार रहेकी उनलाई प्रहरीले झापाको बिर्तामोड नगरपालिका–५ पूर्व–पश्चिम लोकमार्गनजिक हिँडिरहेका बेला बुधबार बिहान ४ः३० बजेतिर फेला पारेको थियो । अस्मिताका पति अर्जुनको घर धनकुटाको पाख्रिबास नगरपालिका–५ हो । सुन्दरहरैँचा–७ स्थित दिदीको घरमा परिवारसहित बस्दै आएका थिए ।
पछिल्लोपटक निर्माणाधीन घरमा पानी लगाउने विषयमा पति अर्जुनसँग विवाद भएपछि अस्मिता शुक्रबार साँझ दुई छोरीहरू लिएर बेपत्ता भएकी थिइन् । त्यसकै केहीबेरमा दुवै नानीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यो पनि – मोरङमा दुई नाबालिका मृत्यु प्रकरण : पक्राउ परेकी अस्मिताले भनिन्, ‘छोरीहरूलाई विष खुवाएर मारें, मैले पनि खाएँ’यो पनि – मोरङमा दुई नाबालिका मृत्यु प्रकरण : पक्राउ परेकी आमा प्रहरीद्धारा सार्वजनिकयो पनि –मोरङमा एकै घरका दुई नाबालिकाको मृत्यु प्रकरण : फरार रहेकी आमा बिर्तामोडबाट पक्राउयो पनि – मोरङमा एकै घरका दुई नाबालिकाको मृत्यु प्रकरण : दिनभर खोज्दा पनि फेला परिनन् आमायो पनि – मोरङको सुन्दरहरैँचामा एकै घरका दुई नाबालिकाको शव भेटियो, घटना रहस्यमय
प्रतिक्रिया