मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न भएको निर्वाचन आयोगले बताएको छ ।
सम्पन्न भएको मतगणनाको विवरण निर्वाचन आयोगको सूचना प्रणाली र समानुपातिक प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख हुने क्रम जारी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत मत खसेको अनुमान गरिएको छ । सोको ८० प्रतिशत मतगणना हुँदा अब करिब २४ लाख मत उक्त प्रणालीतर्फ गणना हुन बाँकी छ ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ स्थानमध्ये हालसम्म एक सय ४४ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ ।
समानुपातिक तर्फको आइतबार दिउँसोसम्मको मतलाई हेर्दा एमालेले २४ लाख १३ हजार २२२ मतसहित पहिलो स्थान बनाएको छ । नेपाली कांग्रेसले २२ लाख ९४ हजार ९८३ मतसहित दोस्रो स्थानमा छ । नेकपा माओवादी केन्द्रले १० लाख ५ हजार ६७९ मत पुर्याएको छ ।
चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख ८३ हजार बनाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख १३ हजार कटाएर पाँचौ पार्टी बनेको छ । यता जसपाले ३ लाख कताएर छैटौँ स्थान कायम गर्दा सातौँमा नेकपा एकीकृत समाजवादीले २ लाख ३५ हजार मत पाएको छ । समाजवादी तीन प्रतिशत थ्रेस होल्ड कटाउने प्रयासमा छ ।
समाजवादीपछि जनमतले २ लाख ३४ हजार, नागरिक उन्मुक्ति पार्टीले २ लाख २ हजार र लोसपाले १ लाख २२ हजार मत ल्याएका छन् ।
प्रतिक्रिया