मकवानपुर । पेट्रोल बोकेको ट्याङ्करको टायर मर्मतका क्रममा पड्किएर हेटौँडामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पेट्रोल बोकेको ट्याङ्करको टायर मर्मत गर्ने क्रममा टायर पड्किएर मृत्यु हुनेमा भारत घर भएका ३४ वर्षीय मोहम्मद ऐजाज छन्।
उनी हेटौँडा–११ थाना भर्याङमा टायर मर्मत पसल सञ्चालन गर्दै आएका थिए । मर्मतको क्रममा एक्कासि टायर विस्फोटपछि गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार मङ्गलवार बिहान १ बजे मधेस प्रदेश ०३–००२ ख ०३०० नम्बरको पेट्रोल बोकेको टयांकरको टायरबाट हावा गएको थियो ।
टायर खोली मर्मतपछि हावा भर्ने क्रममा टायर विस्फोट भएको हो । टायर विस्फोटबाट उनको टाउको र शरीरको बायाँतर्फ गम्भीर चोट लागेर घाइते भएका थिए । उनको उपचारका क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
अर्यालका अनुसार घटनामा पर्साको धोबिनी गाउँपालिका–२ का १८ वर्षीय जाबिर हवारी, मधेस प्रदेश ०३–००२ ख ०३०० नम्बरको ट्याङ्कर चालक हेटौँडा ११ स्मारका ३९ वर्षीय देवान लामा, अर्को टयांकर चालक धादिङको धुनिबेशी नगरपालिका–२, भञ्ज्याङ पोखरीका २३ वर्षीय उत्तम बस्नेत, हेटौँडा–११ नवलपुरका ४७ वर्षीय मोहनलाल दुलाल र धादिङको थाक्रे गाउँपालिका–८ का लक्ष्मण थापा घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइतेमध्ये मधेस प्रदेश ०३–००२ख ०३०० नम्बरको ट्याङ्कर चालक देवान लामाको अवस्था मध्यम रहेको र उनको चुरे हिल अस्पतालमा उपचार भइरहेको छ यस्तै अन्य ४ जना घाइतेको उपचारपछि डिस्चार्ज भइसकेको छ ।
प्रतिक्रिया