पत्नीको उपचार गराउन ल्याएको पैसा चोरी भएपछि बिचल्ली

बुधबार, २८ कार्तिक २०८१
विराटनगर : मोरङको बूढीगंगामा रहेको विराट शिक्षण अस्पतालमा उपचारका लागि आएको समयमा पैसा चोरी भएपछि बिचल्ली भएको छ । संखुवासभाको पाँचखपन नगरपालिका–५ का ६५ वर्षीय कृष्णबहादुर तामाङले पत्नी निर्माया तामाङ करिब २ सातादेखि बिरामी भएपछि उपचारका लागि ल्याए । एक साताजति जिल्ला अस्पताल खाँदबारीमै बेड भर्ना गरेर उपचार गराएका थिए । निको भएको भनेर अस्पतालले डिस्चार्ज पनि दियो । घरमा ल्याएपछि निर्माया झन् शिथिल भइन् । पति कृष्णबहादुरले थप उपचारका लागि मंगलबार विराट ल्याए । उनीहरू सोमबार पहाडबाट झरेका हुन् । त्यो रात इटहरी उपमहानगरपालिका–१ स्थित छोरीको घरमा बसे । पत्नीलाई लिएर भोलिपल्ट (मंगलबार) बिहान कृष्णबहादुर विराट अस्पताल पुगे । त्यतिबेलै एक जना व्यक्ति उनीसँग नजिक भए । आफू पनि बिरामी कुरुवा भनेर कृष्णबहादुरलाई विश्वासमा पारे । बिरामी पत्नी स्याहार्न समस्या भइरहेका बेला कृष्णबहादुरको पछाडि भिरेको झोला बोकिदिन्छु भने । पैसाको झोला फुत्काउन सफल भएका ती व्यक्ति त्यहाँबाट गायब भए । झोलाभित्र एक लाख १० हजार रूपैयाँ रहेको जानकारी कृष्णबहादुरले प्रहरीलाई गराएका छन् । पत्नीको उपचार गराउन ल्याएको पैसा अपरिचित व्यक्तिले विश्वासमा पारेर चोरीदिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए । कृष्णबहादुरले ती व्यक्तिलाई चिनेकै थिएनन् । ती व्यक्तिले आफ्नो पनि आमा बिरामी भएकाले रुँग्न अस्पताल बसेको बताएका थिए । विश्वासमा परेर झोला बोक्न दिएपनि ती अपरिचित व्यक्ति झोला बोकेर फरार भएपछि कृष्णबहादुर अहिले बिचल्लीमा परेका छन् । अस्पतालको सीसी क्यामेरा फुटेजमा पनि ती व्यक्ति झोला बोकेर गेटबाट बाहिर निस्किएको देखिने डीएसपी जोशीले जानकारी दिए । ‘विश्वासमा पारी झेला बोकिदिन्छु भनेर मौका छोपेको पाइयो । पैसा चोरीमा संलग्नको खोजी भइरहेको छ । अनुसन्धान पनि गर्दैछौं,’ उनले भने । ती व्यक्तिको खोजीका लागि इलाका प्रहरी कार्यालय नेमुवाबाट सइ प्रवीण खड्काको नेतृत्वमा टोली परिचालन गरिएको छ । आफ्नी पनि आमा बिरामी भएर अस्पताल भर्ना गरेको भन्दै नजिक भएका व्यक्तिले कृष्णबहादुरको पैसा चोरी गरेको उनकी छोरी लक्ष्मीले बताइन् । ‘मेरो त आमाको उपचार गराउँदा पाँच लाख सकियो । यहाँ (अस्पतालमा)त धेरै पैसा खर्च हुन्छ । तपाईंले कति ल्याउनु भएको छ ? भनेर त्यो मान्छेले सोधेछ,’ लक्ष्मीले भनिन्, ‘४ घण्टाभन्दा बढी सँगै हिँडेर र बसेर सहयोग गरेजस्तो पनि गरेछ । विश्वास गरेर सोधेजति कुरा बुवाले पनि भन्नु भयो । झुक्याएर पैसाको झोला नै चोरी गरेर भागेछ ।’ उनका अनुसार घटना दिउँसो १ बजेतिरको हो । एकातिर पत्नी बिरामी भएर कृष्णबहादुर तनावमा छन् । पहाडदेखि उपचार गराउन तराई झर्दा खर्च उत्तिकै लाग्यो । त्यहाँमाथि खोजीमेली गरेर पत्नीको उपचार गराउन ल्याएको पैसा चोरी भयो । बिरामी पत्नीको उपचार गराउन आएका उनी पैसा चोरी भएपछि बेखर्ची भएर थप समस्यामा परेका छन् । आफूहरूलाई तनावमाथि तनाव थपिएको लक्ष्मी बताउँछिन् । उनले भनिन्, ‘ममी बिरामी भएको तनाव एकातिर छ । अर्कातिर पैसा चोरी भएको तनाव थपियो ।’ यसबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार