रास्वपाको निर्णय : ओली, लेखक र गुरुङलाई राजनीतिक गतिविधिमा रोक लगाउन माग

बुधबार, ०८ असोज २०८२

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलन सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक नभएसम्म तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजनीतिक गतिविधिमा सहभागी हुन रोक लगाउन सरकारलाई ध्यानाकर्षण गराउने भएको छ ।

बुधबार बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै, भदौ २४ गते नख्खु कारागारलगायतका स्थानमा भएका घटनामा पार्टी सदस्यहरूको संलग्नता छ–छैन भन्ने यथार्थ पत्ता लगाउन छानबिन समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकले रास्वपाको केन्द्रीय विस्तारित बैठक आगामी कात्तिक १४ र १५ गते गर्ने निर्णय गरेको छ । सो बैठकमा पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनबारे छलफल हुने प्रवक्ता झाले बताए ।

साथै, २०४६ सालयता उच्च ओहदामा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न सरकारलाई दबाब दिने, जेनजी आन्दोलनका क्रममा नेताहरूको घरमा भेटिएका अवैध नगद र सम्पत्ति सम्बन्धी तथ्य स्पष्ट पार्न माग गर्ने निर्णय पनि बैठकले गरेको छ ।

जेनजी पुस्ता, नयाँ शक्ति र अभियन्तासँग संवाद एवं सहकार्य गर्न पुकार बमको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको छ । यस्तै, आगामी फागुन २१ गते हुने निर्वाचनका लागि बाचा पत्र तयार गर्न उपसभापति डा. स्वर्णिम वाग्ले संयोजकत्वमा सात सदस्यीय बाचा पत्र लेखन समिति गठन गर्ने निर्णय समेत गरिएको छ ।

RaSwaPa

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार