काठमाडौं : मुलुकभर चिसो बढेसँगै वायु प्रदूषणको मात्रा पनि बढ्दै गएको छ । अहिले काठमाडौं विश्वको प्रदूषित सहरको छैटौं नम्बरमा परेको छ ।
दुई विशाल छिमेकी मुलुक भारत र चीनमा उत्पादन भएको प्रदूषण हावाको माध्यममार्फत् नेपाल प्रवेश गर्ने गरेकाले पनि वातावरण प्रदूषित हुँदै गएको वातावरण विज्ञहरू बताउँछन् ।
नेपालमा अहिले पश्चिमी वायु सक्रिय रहेको र नेपालभन्दा पश्चिममा रहेका पाकिस्तान तथा भारतमा फैलिएको प्रदूषणलाई हावाले उडाएर नेपाल ल्याएकाले पनि प्रदूषण बढ्नुको प्रमुख कारण रहेको वरिष्ठ वातावरणविद् भूषण तुलाधरले जानकारी दिए ।
विश्वको प्रदूषित सहरमा पाकिस्तानको लाहोर सहर रहेको छ । सिंगापुरको वायुको शुद्धता मापन गर्ने वेभसाइटका अनुसार त्यहाँको वायु शुद्धता सूचकांक (एक्युआई) १११७ रहेको छ ।
जुन अत्यन्तै हानिकारक हो । लाहोरमा प्रदूषणको मात्रा अत्यधिक बढेपछि त्यहाँको सरकारले अत्यावश्यक सेवाबाहेक अन्य काममा नलाग्न जनतालाई आग्रह नै गरेको थियो ।
पाकिस्तानपछि प्रदूषित सहरको सूचीमा भारतको नयाँ दिल्ली, कोलकोत्ता लगायतका सहरहरू परेका छन् । नेपालमा पश्चिमी वायुका साथै वर्षा सकिएपछि चिसो बढ्ने र चिसो बढेसँगै प्रदूषणका कणहरू हावामा नै जम्मा भएर बसिरहने भएकाले पनि वायु प्रदूषणको मात्रा बढ्ने वातावरण विज्ञ तुलाधरले जानकारी दिए ।
वायु प्रदूषण प्राकृतिक र मानव सिर्जित दुवै कारणबाट बढ्ने भएकाले यसका लागि सजगता अपनाउनुको विकल्प नभएको पनि उनले बताए । हिउँदे याम सुरु भएपछि नेपालमा बालीनाली भित्र्याउने र पातपतिंगर लगायत जम्मा भएर बसेको फोहोर मैला जलाउने र त्यसबाट निस्कने प्रदूषण पनि नेपालका लागि हानिकारक हुने गरेको छ ।
अहिले काठमाडौँमा प्रदूषणको मात्रा बढेर १ सय ५० एक्युआई पुगेको छ । यो मानव स्वास्थ्यका लागि हानिकारक मानिएको छ ।
नेपालमा हिउँदे याम सुरु भएपछि इँटा भट्टाहरू सञ्चालन गर्ने जङ्गलतिर पनि आगलागी हुनेजस्ता घटनामा वृद्धि हुँदै गएपछि नेपालका प्रमुख सहरहरूमा वातावरण प्रदूषण बढ्दै गएको छ ।
निर्माणाधीन सडकबाट निस्कने धुलो र त्यसका कणहरू देशैभर फैलिएका कारण नेपालमा वायु प्रदूषण बढेको निष्कर्षमा वातावरणविद्हरू पुगेका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकालगायत देशभर अहिले वर्षा हुने सम्भावना नरहेकाले वायु प्रदूषणको तह घट्ने छाँट देखिँदैन । अहिले वायु प्रदूषणको मारमा एसियाली मुलुकहरू परेका छन् ।
यी मुलुकमा ठूलाठूला उद्योग कलकारखाना रहेका र त्यसबाट निस्कने प्रदूषकलाई व्यवस्थित गर्न नसक्दा यो समस्या आएको वातावरण विज्ञहरूले बताउँदै आएका छन् ।
प्रतिक्रिया