विराटनगर : कवि हरि कट्टेलको आठौं कृति ‘बिलौनै बिलौना’ कविता सङ्ग्रहको विमोचन गरिएको छ ।
दोस्रो संस्करणको रूपमा प्रकाशित कृतिको शनिबार पूर्वाञ्चल साहित्य प्रतिष्ठान, विराटनगर र छन्द बाटिका, नेपालद्वारा संयुक्त रूपमा विमोचन गरिएको हो ।
कार्यक्रममा वरिष्ठ साहित्यकार प्राध्यापक कविराज न्यौपाने, अग्रज साहित्यकारहरू बलराम पोखरेल, प्रा.डा. मेदिनीप्रसाद शर्मा, प्रा.डा. हरिहर भण्डारी, सोमराज अभय, आयोजक संस्था पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेललगायतले संयुक्त रूपमा कृतिको विमोचन गरेका थिए ।
विमोचित कृतिमाथि समालोचक निर्मला कोइरालाले समीक्षा गरेकी थिइन् ।
उनले कवि किशोरावस्थामा प्रवेश गरेको बखत २०४५ सालमा नै यस कृतिको पहिलो संस्करण प्रकाशित भएको तर सङ्ग्रहभित्रका कविताहरू पढ्दा कविको युगचेत र कवित्व त्यस समयमा सशक्त र परिपक्व देखिएको टिप्पणी गरिन् ।
कवितामा कलात्मक ढङ्गले जन्मस्थान सोलुखुम्बुको माटो र प्रकृति, जन्मदिने आमा र जन्मिएको देशप्रति अगाध आस्था वकालत गरिएको चर्चा गरिन् ।
सो अवसरका साहित्यकारहरू रमेशचन्द्र अधिकारी, शारदा कार्की, कविपुत्री प्रज्ञा कट्टेल लगायतले विमोचन भएको सङ्ग्रहभित्रका कविता वाचन गरेका थिए ।
प्रमुख अतिति प्राध्यापक कविराज न्यौपानेले अहिले पनि युवावस्थामा रहेका कवि कट्टेलले आजभन्दा ३५ वर्ष अगाडि लेखेका यी सङ्ग्रका कविताहरू पढ्दा कविमा दुरदृष्टि रहेको बताए ।
प्रतिक्रिया