काठमाडौँ : देशलाई नशामुक्त घोषणा गर्न माग गर्दै भगवती मानव कल्याण सङ्गठनले काठमाडौँ उपत्यकास्तरीय नशामुक्ति जनजागरण पदयात्रा गरेको छ । ‘नशामुक्त नेपाल–समृद्ध नेपाल’को मूल नारासहित सङ्गठनले पदयात्रा गरेको हो ।
पदयात्राको माध्यमबाट तीन तहका जनप्रतिनिधि एवं सरोकारवाला निकायलाई ज्ञापनमार्फत देशलाई नशामुक्त घोषित गर्न खबदारी गर्ने सङ्गठनका सचिव मिनु सिग्देलले बताइन् । पदयात्रामा हजारौँ व्यक्ति नशामुक्ति अभियानका अन्तर्राष्ट्रिय अभियानकर्मी सिद्धाश्रम–रत्न श्रद्धेय अजय अवस्थी र नेपाल सरकारका जनप्रतिनिधि सहभागी थिए ।
सो अवसरमा १० किलोमिटरको पदयात्रा गरिएको थियो । पदयात्राका क्रममा यात्रु एवं घरघरबाट निस्किएका सहभागीले नशामुक्त नेपाल घोषणाको अभियानलाई समर्थन जनाएका थिए । कैयौँ व्यक्तिले अभियानलाई समर्थन जनाउँदै पुष्प वर्षासहित मार्गमा स्वागत गरेका थिए ।
पदयात्राको मार्गमा नशामुक्त नेपालका लागि गरिएको हस्ताक्षर सङ्कलनमा समेत हजारौँले हस्ताक्षर गरेर ऐक्यबद्धता जनाएका छन् । \
कार्यक्रमअन्तर्गत सङ्गठनले नशामुक्त नेपालका लागि १० हजार हस्ताक्षर सङ्कलन गरेको छ । पदयात्रा ललितपुरको मङ्गलबजार पाटन दरबार क्षेत्रस्थित कृष्णमन्दिर प्राङ्गणबाट शुभारम्भ गरिएको थियो ।
पाटन कृष्णमन्दिरबाट–प्रभात मावि त्यागल–महाबौद्ध मन्दिर वकुबहाल–थैना–टङ्गल–इती टङ्गल–प्रयागपोखरी–लगनखेल बसपार्क–नमूना मछिन्द्र मावि, पाटन अस्पताल–इखालखु–पूर्णचन्डी मन्दिर–मानभवन–जावलाखेल–पुल्चोक–ललितपुर महानगरपालिका–मदनस्मारक स्कुल–नः टोल–गाँबहाल–महापाल हुँदै पुनः पाटन दरबार क्षेत्रस्थित कृष्ण मन्दिरमा पुगेर समापन भएको थियो ।
कार्यक्रमको समापनमा सिद्धाश्रम रत्नश्री अजय अवस्थीले अधिकांश युवा नशाले ग्रसित भएको भन्दै देशको भविष्यका लागि नशामुक्त नेपाल घोषणा हुनु आवश्यक रहेको बताए ।
देशको समृद्धिमा नशाजन्य पदार्थ बाधक भएको उनको भनाइ छ । सङ्गठनले विगत १६ वर्षदेखि नशामुक्ति अभियानमा सक्रिय रूपमा कार्य गर्दै आएको स्मरण गर्दै उनले नेपालमा हजारौँ परिवारलाई नशामुक्त गरिसकेको दाबी गरे ।
सङ्गठनले ‘एक वृक्ष राष्ट्रको नाममा भन्ने मूल नारासहित २०८१ साउनदेखि देशव्यापी एक करोड वृक्षारोपण अभियान पनि सञ्चालन गरेको छ ।
सङ्गठनद्वारा आम जनसमुदायको सहयोगमा मेचीदेखि महाकालीसम्म जारी वृक्षारोपण अभियान तीव्र रूपमा अघि बढिरहेको सचिव डा. मिनु सिग्देलले बताइन् ।
सङ्गठनले नशामुक्त नेपाल–समृद्ध नेपालको देशव्यापी अभियानअन्तर्गत आध्यात्मिक अनुष्ठान, पदयात्रा, सचेतना र खबरदारीका विविध कार्यक्रमको आयोजना गर्दै आएको छ । सङ्गठनले विगत १६ वर्षदेखि नशामुक्ति अभियानमा सक्रिय रूपमा कार्य गर्दै आएको छ । समाजमा व्याप्त धार्मिक आडम्बर, सामाजिक कु–संस्कार तथा राजनीतिक भ्रष्टाचारविरूद्ध पनि जनचेतना फैलाउँदै आएको उनले सुनाए ।
जातिभेद–छुवाछूत, बलिप्रथा, दाइजो प्रथा, नास्तिकता, साम्प्रदायिकता, चरित्रहीनता लगायतका कु–संस्कारबाट ग्रसित मानव समाजलाई मूल सनातन संस्कृति ऋषिकालीन परम्परासँग जोड्न विविध कार्यक्रमको सञ्चालन गर्दै आएको छ ।
चेतनावान्, कर्मवान्, सामथ्र्यवान्, आत्मवान्, परोपकारी, क्षमाशील, त्यागपूर्ण, सौर्य, साहस, पराक्रमलगायत मानवीय मूल्यमान्यताले परिपूर्ण आध्यात्मिक समाज निर्माणका लागि सङ्गठन सक्रिय रहेको जानकारी सो अवसरमा गराइएको थियो ।
सङ्गठनले शक्तिचेतना जनजागरण शिविर, योग, ध्यान, प्राणायाम, मन्त्र जपलगायत अष्टाङ्ग योग र नवधा भक्तिका क्रम अपनाउँदै नेपालमा हजारौँ व्यक्तिलाई नशामुक्त गरिसकेको जनाइएको छ ।
प्रतिक्रिया