झापा कप : दार्जिलिङलाई हराउँदै इटहरीको जागृति सेमिफाइनलमा

मंगलबार, ०२ पुस २०८१
झापा : इटहरीको राष्ट्रिय जागृति क्लब विर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा टाइब्रेकरमा पाहुना टोली भारतको जिटिए दार्जिलिङलाई ४–२ गोलले हराउँदै जागृतिले सेमिफाइनलको यात्रा तय गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरेका थिए । जिटिएका आशिष देवान र प्रितम राईले मात्र गोल गरेका थिए भने अंगद थापा मगर र भाइचुङ राईको प्रहार गोलरक्षक नीरज चौधरीले बचाउ गरेका थिए । खेलको १७ औँ मिनेटमा जागृतिका लागि प्रवेश बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाए । डिबक्समा अनमार्क रहेका बस्नेतले खमिर गिल्सन कन्दङवाको क्रस पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । खेलको २० औँ मिनेटमा डिफेन्डर निवास रानाको ह्यान्ड बल भएको थियो । त्यसपछि जागृतिका मिलन राईले गरेको पेनाल्टी प्रहार जिटिएका गोलकिपरले बचाउ गर्दा अग्रता दोब्बर गर्ने अवसर गुमेको थियो । खेलको २२ औँ मिनेटमा जिटिएले खेल बराबरी ग¥यो । जिटिएका देवाशिष राईले मैदानको मध्यभागबाट दुईजना डिफेन्डरलाई विट गर्दै विपक्षी गोलपोस्टमा प्रहार गरेका थिए । गोलकिपरबाट रिबाउन्स भएको बललाई उनले गोलमा परिणत गरेका थिए । खेलको ३६ औँ मिनेटमा जिटिएका कप्तान आशिष देवानको कर्नर प्रहारमा ज्योति क्षेत्रीले गरेको हेडर गोलकिपर निरज चौधरीले गोल लाइनबाट बचाएका थिए । खेलको ६८ औँ मिनेटमा जागृति १० खेलाडीमा सीमित भयो । जागृतिका स्ट्राइकर मिलन राई विपक्षी गोलकिपर निगम सिंहलाई फाउल गरेपछि रेडकार्ड पाएर मैदानबाट बाहिरिए । दश खेलाडीमा सीमित भएको जागृति त्यसपछि दबाबमा परेको थियो । खेलको प्लेयर अफ द म्याच विजेता जागृतिका गोलरक्षक चौधरी भएका छन् । उनले नगद १० हजार पुरस्कार पाए । बुधबारको तेस्रो क्वार्टर फाइनल खेल चर्च ब्वाइज युनाइटेट र गोर्खा ब्वाइज स्पोर्टस क्लब रुपन्देहीबीच हुने आयोजक झापा ११ क्लवका महासचिव गणेश पोखरेलले बताए । प्रतियोगिताको विजेताले नगद रु १० लाख तथा उपविजेताले नगद रु पाँच लाख पुरस्कार पाउने पोखरेलले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार