विराटनगर : विराटनगर महानगरपालिकाले यहाँ सञ्चालित गीत गजल तथा दोहोरी साँझलाई व्यवस्थित गर्ने विषयमा सम्बन्धित व्यवसायीहरूसँग छलफल गरेको छ ।
दोहोरी साँझ र गीत गजल व्यवसायका कारण ध्वनि प्रदूषण र होहल्ला भएको भन्दै गुनासो आएपछि महानगरले व्यवसायीहरूलाई बोलाएर व्यवस्थित गर्न निर्देशन दिएको छ ।
महानगरका मेयर नागेश कोइरालाले तीन दिनभित्र ध्वनि प्रदूषण कम गर्न निर्देशन दिएका हुन् ।
उनले ध्वनि प्रदूषण र हो–हल्लाले राति सुत्न, विद्यार्थीलाई अध्ययन गर्नसमेत बाधा पुगेको भन्दै महानगरका विभिन्न स्थानबाट भिडियोसहितको गुनासो आएको जानकारी दिए ।
विराटनगरमा सञ्चालित आधाभन्दा बढीले अझै पनि ध्वनि प्रदूषण कम गर्ने विधि नपनाएको पाइएको छ ।
उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेल, राजस्व महाशाखा प्रमुख सरोज गौतम, सरसफाई शाखा प्रमुख पुनम दाहाललगायतको उपस्थितिमा भएको भेलाले महानगर प्रहरीका निरीक्षक राजन पौडेलको संयोजकत्वमा गीत गजल र दोहोरी साँझलाई व्यवस्थित बनाउन समितिसमेत गठन गरेको छ ।
समितिमा होटल तथा पेयपदार्थ संघअन्तर्गतको रात्रिकालीन होटल व्यवसाय समन्वय समितिका अध्यक्ष सुरज श्रेष्ठ, महानगरको राजस्व महाशाखाका वासुदेव भण्डारी, नासाकु गीतगजलकी सञ्चालिका वविता चौधरी र श्रीराम गीत गजलका सञ्चालक नारायण तिम्सिना सदस्य छन् ।
समितिले ध्वनि प्रदूषण र पार्किङको अवस्था, राजस्व तिरे नतिरेको, सरसफाई कार्ड बनाए नबनाएको लगायतका विषयमा अनगुमन गर्नेछ ।
मेयर कोइरालाकै पहलमा बसेको प्रमुख जिल्ला अधिकारी, मोरङका प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुखलगायत सरोकारवालाको बैठकले राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।
व्यवसायीकै आग्रहअनुसार रात्रिकालीन व्यावसाय सञ्चालन गर्न दिने निर्णय भए व्यवसायीहरूले निर्णय कार्यान्वयन नगरेको मेयर कोइरालाको भनाइ थियो । सोही निर्णयपछि राति ९ बजेसम्म सञ्चालन हुँदै आएका होटल व्यवसाय, गीत गजल रेष्टुरेन्ट, दोहोरी साँझ हाल १२ बजेसम्म सञ्चालन हुँदै आएका छन् । रात्रिकालीन व्यावसाय सञ्चालन गर्दा ध्वनि प्रदूषण, हो–हल्ला र अमर्यादित गतिविधि हुन नदिनेलगायतमा व्यवसायीहरूले नै सहमति जनाएका थिए ।
मेयर कोइरालाले व्यवसायीहरूले विगतमा गरेको सहमति एक वर्ष बितिसक्दा पनि कार्यान्वयन नहुनु दुःखद् भएको प्रतिक्रिया दिए ।
‘अब पनि सहमति कार्यान्वयन नभए पूर्वतः अवस्थाकै राति ९ बजेसम्म मात्रै सञ्चालन हुनेगरी अर्को निर्णय हुनसक्छ,’ मेयर कोइरालाले भने, ‘कम्तिमा व्यवसाय गर्दा अरूलाई बाधा त पुग्नु भएन नि ?’
प्रतिक्रिया