विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै जातजाती, भाषा, धर्म र संस्कृति र पहिचानको संरक्षण राज्यले गर्ने बताएका छन् ।
विगतमा राज्यले नै जानी–नजानी कुनै समुदाय विशेषमा राज्यले थिचोमिचो गरेको भएपनि अब त्यस्तो नहुने उनले प्रस्ट्यााए ।
उनले भने, ‘हामी यो प्रदेशका सबै भाषा, संस्कृति र पहिचानको जर्गेना गर्नेछौँ । सबैलाई हामी राज्यको मुलधारमा हिडाउने प्रयत्न हुनेछ ।’
मुख्यमन्त्री कार्कीले राजवंशी समुदायको सांस्कृतिक संग्राहलय निर्माणमा सहयोग गर्ने घोषणासमेत गरे । शुक्रबार मोरङको सुनवर्षी नगरपालिकामा राजवंशी समाज विकास समितिको वार्षिकोत्सवमा बोल्दै मुख्यमन्त्री कार्कीले संग्राहलयका लागि प्रस्ताव ल्याउन आग्रह गरे ।
उनले भने, ‘तपाईहरू प्रस्ताव लिएर आउनुहोस्, सहज स्थानमा जग्गा खोजी गरेर राजवंशी समुदायको संस्कृति समेटेर संग्राहलय निर्माण गर्न प्रदेश सरकारले सहयोग गर्छ ।’
मुख्यमन्त्री कार्कीले राजवंशीलगायतका आदिवासी समुदाय अझै पनि समाजको मुलधारमा नआइसको भन्दै आदिवासी समुदायको उत्थानका लागि समेत प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले अहिले पनि झापामा लोकसेवा तयारी कक्षा प्रदेश सरकारले सञ्चालन गरिरहेको जानकारी दिए ।
आदिवासी समुदाय गरिबीको चपेटामा रहेको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले सबैको समान विकासका लागि प्रदेश सरकारले विभिन्न काम गरिरहेको बताए ।
प्रतिक्रिया