इलाम : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको दोस्रो इलाम जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ । अधिवेशनबाट रवीन्द्रनाथ अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
उपाध्यक्षमा पार्वता पौडेल, सचिवमा टीकाराम थापा, कोषाध्यक्ष रञ्जना मगर, सहसचिवमा प्रविन खड्का चयन भएका छन् ।
त्यस्तै, सदस्यहरूमा मोहनबहादुर थापा, महेन्द्र साउदेन, सन्तवीर गोले र गणेशबहादुर खड्का रहेका छन् ।
अधिवेशनले संघको क्षेत्रीय सभापतिसमेत चयन गरेको छ । जसमा क्षेत्र नम्बर १ मा ईश्वरी भट्टराई र क्षेत्र नम्बर २ मा नन्दकुमार राईलाई चयन गरेको छ ।
कांग्रेसका अग्रज नेता तथा महासमिति सदस्य तोयानाथ भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न जिल्ला अधिवेशनमा भट्टराईले कांग्रेसले अपाङ्गता भएकाहरूलाई नीतिनिर्माण तहमा पुर्याउनुपर्नेमा जोड दिए ।
उनले यस क्षेत्रमा सक्षम व्यक्तिहरू भएकाले नीति, निर्माण तहमा जाने अवसर पाएमा कुनै कसर नछाड्नेमा निश्चिन्त रहेकोसमेत बताए ।
लोकतान्त्रिक अपाङ्ग संघका केन्द्रीय सदस्य माधवप्रसाद चम्लागाईले आफूहरू लामो समयदेखि पार्टीमा काम गरिरहेको भन्दै अब राजनीतिक अधिकारका लागि काम गर्ने बेला आएको बताए ।
उनले पार्टीभित्रको संरचनामा अपाङ्गता भएकाहरूले वडा तहदेखि नै अवसर पाउनुपर्ने भन्दै त्यसका लागि प्रयासरत रहेकोसमेत बताए ।
कार्यक्रममा कांग्रेस महासमिति सदस्य भेषराज आचार्य, कांग्रेस जिल्ला उपसभापति एवं उपमेयर विष्णुकुमारी दाहाल, उपसभापति खगेन्द्र देवान, पार्टी जिल्ला सचिव निरोज खड्गीले पार्टीले वडातहदेखि नै अपाङ्गता भएकाहरूलाई अवसर दिनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया