काठमाडौँ : पाँच महिनामा १ अर्ब ७६ करोड युनिट विद्युत् भारत निर्यात भएको छ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा १३ अर्ब ४ करोड रुपैयाँ बराबरको बिजुली भारत निर्यात भएको हो ।
नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारत निर्यात गरिएको जनाएको हो । साउन, भदौ, असोज, कात्तिक र मङ्सिरमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षा यामको विद्युत् भारततर्फ निर्यात गरिएको हो । भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ७ रुपैयाँ ३९ पैसा छ । नेपाल–भारतबिचको सम्झौता अनुसार विद्युत् निर्यात गरिएको हो ।
बाढी पहिरो र सुख्खा यामका कारण तुलनात्मक रूपमा विद्युत् निर्यात घटेको प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार साउनमा सबैभन्दा बढी ४ अर्ब १५ करोडको विद्युत् निर्यात भएको छ । त्यसपछिका महिनामा निर्यात घटेको तथ्याङ्क छ । प्राधिकरणले चालू आवमा करिब ३० अर्ब रुपैयाँको विद्युत् निर्यातको लक्ष्य राखेको छ ।
हिउँद सुरुभएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्ने भएकाले जलविद्युत आयोजनाहरूको विद्युत् उत्पादन कम हुने प्राधिकरणको भनाइ छ ।
प्रतिक्रिया