जनकपुर बोल्ट्स टिम बिहीबार जनकपुरधाम आउने

मंगलबार, ०९ पुस २०८१
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) का विजेता जनकपुर बोल्ट्स टिम बिहीबार जनकपुरधाम आउने भएको छ । जनकपुर बोल्ट्स टिम बिहीबार साँझ जनकपुरधाम आउने र शुक्रवार रजौलस्थित राम जानकी स्टेडियमबाट खेलाडीहरूको सम्मानमा नगर परिक्रमा गरिने जिल्ला क्रिकेट सङ्घ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डे (गुड्डु)ले जानकारी दिए । उनले सोही साँझ जानकी मन्दिरमा ट्रफीसमेत प्रदर्शन गरिने बताए । खेलाडीहरूको सम्मानमा बाजागाजासहितको टोली जनकपुरधाम विमानस्थल पुग्ने छ । जिल्ला क्रिकेट सङ्घले टोलीलाई भव्य स्वागतसहित नगर परिक्रमा गराउने जनाएको छ । टिमलाई स्वागत तथा सम्मान गर्न जानकी मन्दिर, राजदेवी मन्दिर, युवा क्लबहरू, प्याबसन, एनप्याबसन धनुषा, उद्योग वाणिज्य सङ्घ धनुषालगायत विभिन्न सङ्घ संस्थाले तयारी गरेको छ । नेपालमा पहिलो पटक आयोजना गरिएको एनपीएल प्रतियोगिताको विजेता जनकपुर बोल्ट्स टिम बनेको छ । जनकपुर बोल्ट्सले शनिवार काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालयको खेलमैदानमा भएको एनपीएलको फाइनल खेलमा सुदूरपश्चिम टिमलाई ५ विकेटले पराजित गर्दै उपाधि कब्जा गरेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार