फाल्गुनन्द गोल्डकप : न्यू स्टारमाथि मछिन्द्रको आधा दर्जन गोल 

मंगलबार, ०९ पुस २०८१
पाँचथर : न्यू स्टार क्लब सुनसरीको पोस्टमा गोलको वर्षा गर्दै मछिन्द्र फुटबल क्लब, काठमाडौँ फिदिममा जारी एघारौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न दोश्रो क्वाटरफाइनल खेलमा न्यू स्टारलाई ६–२ गोलअन्तरले पराजित गर्दै मछिन्द्र सेमिफाइनलमा पुगेको हो । कमजोर प्रदर्शन गरेको न्यू स्टार प्रतियोगिताबाट बाहिरिएको छ । मछिन्द्रका लागि बिजु भुजेलले खेलको पाचौँ र १५ औँ मिनेटमा गोल गरेका थिए । यस्तै आदित्य शाक्यले ४३ औँ, मनिष डाँगीले ५६ औँ, सञ्जय श्रेष्ठले ६२ औँ र सौरभ सुब्बाले ८५ औँ मिनेटमा गोल गरे । न्यू स्टारका लागि सुशील राईले १३ औँ र सन्दीप श्रेष्ठले ६७ औँ मिनेटमा गोल गरेका थिए । प्रतियोगिताअन्तर्गत बुधबार तेश्रो क्वाटरफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ र विराटनगर सिटी फुटबल क्लब मोरङबीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरले जानकारी दिए । यसअघि क्वाटरफाइनलमा त्रिभुवन आर्मीलाई पराजित गर्दै आयोजक फिदिम स्पोर्टिङ क्लब सेमिफाइनलमा पुगिसकेको छ । यही पुस १५ गते सम्पन्न हुने प्रतियोगिताका विजेताले १० लाख तथा उपविजेताले पाँच लाख पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार