सुनसरी : कोशी प्रदेश प्रहरी प्रमुख, डिआइजी राजन अधिकारीले जिल्लाका सीमा नाकाहरूबाट हुने तस्करी तथा लागू औषधका घटनाहरू निर्मूल गर्नका लागि प्रहरीलाई निर्देशन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षणका क्रममा डिआइजी अधिकारीले सीमामा विशेष निगरानी बढाउन निर्देशन दिएका हुन् ।
उनले कोशी प्रदेशमा रहेका सीमा नाकाहरूबाट अहिले पनि तस्करी हुने क्रम नरोकिएको भन्दै प्रहरीलाई विशेष निगरानी बढाउन र सुरक्षा जाँच चुस्त बनाउन निर्देशन दिए ।
विकृतिको रूपमा रहेको लागूऔषध कारोबार र सेवनको समस्यालाईसमेत नियन्त्रण गर्नका लागि प्रहरीले विशेष अभियान नै सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको अधिकारीले बताए । साथै, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जिल्लाका समग्र गतिविधिबारे चर्चा गरेका थिए ।
उनले सुनसरी विभिन्न घटनाका दृष्टिले संवेदनशील रहेको भन्दै मातहतका युनिटहरूलाईसमेत कार्यसम्पादन गर्न आफूले निर्देश गरेको बताए ।
निरीक्षणका क्रममा इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी लक्ष्मी भण्डारी, धरानका डिएसपी प्रकाश जबेगु, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्तासमेत रहेका डिएसपी रामकुमार तिम्सिनालगायत उपस्थित रहेका थिए ।
प्रतिक्रिया