इटहरीका शुभम् भन्छन् – ‘नेपालमै मिहिनेत गर्ने हो भने राम्रै आम्दानी गर्न सकिन्छ’

आइतबार, १४ पुस २०८१
इटहरी : इटहरी ६ स्थित गोल्डेन चोकमा आइटी व्यवसाय सञ्चालन गर्दै आएका शुभम् अग्रवाल नेपालमै मिहिनेत गरे राम्रो सम्भावना रहेको बताउँछन् । पछिल्लो समय युवाहरू वैदेशिक रोजगारीमा मात्रै केन्द्रित भइरहेको सन्दर्भमा उनले नेपालमै विभिन्न क्षेत्रमा सम्भावनाका ढोकाहरू रहेको बताए ।
२५ वर्षीय अग्रवाल खासगरी आइटी क्षेत्रमा सम्भावना रहेको सुनाउँछन् । जी एस इन्फोटेक नामक पसलमार्फत आइटी क्षेत्रमा काम गरिरहेका उनी भन्छन्, ‘नेपालमै मिहिनेत गर्ने हो भने विदेशको भन्दा राम्रै आम्दानी गर्न सकिन्छ । विदेशमा पनि मिहिनेत गर्नुपर्छ नै, त्यो मिहिनेत नेपालमै गर्ने हो भने यहीँ पनि राम्रो सम्भावना छ ।’
उनले नेपालमै बाबुआमाको सेवा गर्न पाउनुभन्दा ठुलो धन केही नरहेको बताए । ‘नेपालमा आमाबुबाको सेवा गर्न पाउनुजस्तो ठुलो धन केही होइन,’ उनले थपे । शुभम् प्रेरणाको स्रोत आफ्ना हजुरबुबालाई मान्छन् । हजुरबुबा गौरीशङ्कर अग्रवालबाटै आफू प्रभावित भएको र उनकै नाममा जी.एस इन्फोटेक नामक कम्पनी सञ्चालन गरिरहेको उनले सुनाए । गौरीशंकरको चामल मिल थियो । सोही कामबाटै आफू प्रभावित भएर व्यवसायमा केन्द्रित भएको उनको भनाइ छ । इटहरीको कस्तुरी कलेजमै बिबिएस अध्ययन गरेका उनले इन्टरनेटकै प्रयोग गरी आइटी क्षेत्रमा सक्रिय भएको बताए । ‘आइटी एण्ड सर्भिसिङको क्षेत्रमा सेवा दिने उद्देश्यले यो सेक्टरमा लागेको हुँ,’ उनी भन्छन्, ‘खासमा मैले आइटी नै पढेको होइन, अनुभवबाटै लिएको हुँ ।’ नेपालमा पछिल्लो समय आइटीको बढ्दो माग रहेको उनको भनाइ छ । उनले ५० लाख लगानी गरेर व्यवसाय सञ्चालन गरेको दाबी गरे । सिसी क्यामेरा, स्मार्ट डोर लक्स, फायर सेफ्ट, सेफ्टी ज्याकेट, सेफ्टी सुज, सेफ्टी ग्लोब्स, सेफ्टी हेलमेट र सेफ्टी ग्लासेसजस्ता कुरालाई प्राथमिकतामा राखेर व्यवसाय सञ्चालन गरेको उनको भनाइ छ । उनका अनुसार सिसी क्यामेराले सबै प्रकृतिका पिक्चर क्वालिटी खिच्ने काम गर्छ भने स्मार्ट लक्स आइटीकै एक प्रविधि हो । यसले फोनबाटै घरमा प्रवेश गर्नका निम्ति गेटको लक खोल्ने काम गर्छ । यसैगरी फायर सेफ्टी भनेको घरहरूमा इन्भर्टर, ग्यास हुने हुँदा र इलेकट्रिकल सामाग्री प्रयोग गर्दा आगजनी हुने कुरालाई न्यूनीकरण गर्न सहज हुन्छ । ‘इलेकट्रिकल फायर हुनसक्ने भएकाले त्यसलाई न्यूनीकरण गर्न बजारमा बिक्री वितरण गर्दै आएका छौँ,’ उनले भने, ‘मान्छे आफ्नो सुरक्षाका लागि कन्सियस छन् । करोडौँ खर्च गरेर घर, अफिस बनाएपनि लक्जियरिसलाई बुस्ट गर्न स्मार्ट लक्स जडान गर्ने ट्रेन्डलाई फलो गर्न आवश्यक छ ।’ उनले चाइना र भारतबाट आएका सामानलाई आफूहरूले इम्पोर्ट गर्ने सुनाए । आफूहरूले इरोटेक ब्रान्डको आधिकारिक इम्पोर्ट रहेको अग्रवाल बताउँछन् ।
काठमाडौँ र इटहरीमा गरी १८ जनालाई रोजगारी दिइरहेको उनको दाबी छ । नेपालमा आइटीको बढ्दो माग बढ्दो भएपनि मानिसमा सचेतना भने नभएको उनको भनाइ छ । घरको सुरक्षाका लागि मानिस आकर्षित भएकाले यही व्यवसाय सञ्चालन गरेको उनले सुनाए ।
‘सेवाग्राहीको अपेक्षा रिलायबल सेक्रेटरीको छ । भरपर्दो सेवा र समयमै रिपेयरिङ गर्ने अपेक्षा हुन्छ,’ उनले भने, ‘हामीले फोनबाट सम्पर्क गरेपछि टेक्निकल टिम र सेल्स टिमबाट सेवा प्रदान गर्दै आएका छौँ । उनले कोशी प्रदेशभर इटहरीबाट र बागमती प्रदेशमा काठमाडौँमार्फत सेवा प्रदान गर्दै आएको बताए । पछिल्लो समय युवाहरू व्यवसायमा आउन चाहेको अवस्थामा बजारलाई अध्ययन गर्न आवश्यक रहेको अग्रवाल बताउँछन् । ‘युवाहरूले व्यवसाय थाल्नु भनेको मार्केट रिसर्च र प्रडक्ट फिल आवश्यक देखिन्छ,’ उनले भने, ‘फलानोले यति दिनमा पैसा कमायो भनेर देखासिकी गरेर कुद्नुभन्दा आफ्नो क्षमताअनुसार काम गर्न सकियो भने चाँडै ग्रोथ गर्न सकिन्छ ।’ आम मानिस महत्त्वाकाङ्क्षी भएको र देखासिकीमा केन्द्रित भएको उनको भनाइ छ ।  खासगरी व्यवसाय गर्न चाहने युवाहरूलाई राज्यले पनि लगानी गर्न आवश्यक रहेको अग्रवालले बताए । ‘राज्यले युवा उद्यमीलाई उपलब्ध गराउने सेवा भनेकै स्टार्टअप लोनलाई प्रभावकारी बनाउनु हो,’ उनले भने, ‘स्टार्टअप लोनलाई प्रभावकारी बनाउन सके सपोर्ट हुनेथ्यो । मेरो सेक्टरमा भने राज्यले सचेतना फैलाउनुप¥यो । अग्नि सुरक्षा भनेको आजको समयमा अति आवश्यक हो । महत्त्व बुझाउने र जनचेतना फैलाउन राज्यले सहयोग गर्न आवश्यक छ ।’ उनले अग्नि सुरक्षाबारे राज्यले जनचेतना फैलाउन आवश्यक रहेको बताए । युवा उद्यमीलाई राज्यले झन्झट होइन, प्रोत्साहित गर्नुपर्ने उनको बुझाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार