“यो जेनजी आन्दोलन होइन, दशकौँको निराशाबाट जन्मिएको विद्रोह हो,” — प्रकाश राई

शनिबार, ११ असोज २०८२

(एकीकृत सरकारी कर्मचारी सङ्गठन, नेपालका महासचिव र समाजशास्त्रका अध्येता प्रकाश राईसँगको कुराकानी)

इटहरी : मुलुक अहिले पुनः एक किसिमको सामाजिक र राजनीतिक अस्थिरतामा छ। दशकौँदेखि भइरहेका आन्दोलन, सत्ता–सङ्घर्ष र नेतृत्वको असफलताले निराश युवा पुस्ता अन्ततः सडकमा उत्रिएपछि मुलुक अव्यवस्थित अवस्थामा पुगेको छ।

‘जेनजी आन्दोलन’का नाममा देखिएको हालको घटनाक्रमलाई धेरैले सामान्य असन्तोष मानेका छन्, तर कतिपयको दृष्टिमा यो केवल आन्दोलन नभई विद्रोहकै सङ्केत हो।

संविधान जारी भएको एक दशक बितिसक्दा पनि जनताले अपेक्षा गरेको सुशासन, रोजगारी र समान अवसर प्राप्त गर्न सकेका छैनन्।

भ्रष्टाचार, पक्षपात र वैदेशिक रोजगारीमा पलायन हुने युवाको सङ्ख्या बढ्दै गएको छ। राज्यका संरचनाहरू जनमुखी बन्न नसक्दा नागरिकको भरोसा कमजोर हुँदै गएको छ। यही असन्तोषको चापले नयाँ पुस्ता राज्य र नेतृत्वप्रति प्रश्नवाचक दृष्टिले हेर्न थालेका छन्।

युवाहरूमा बढ्दो नैराश्य, आत्महत्याको दर र कुलतमा फस्ने प्रवृत्ति समाजमा गहिरो संरचनागत समस्या भएको सङ्केत हो। शिक्षा र स्वास्थ्यमा असमानता, रोजगारीमा अवसरको अभाव, र राजनीतिक नेतृत्वको विभेदकारी व्यवहारले अहिलेको पुस्तालाई बेग्लै बाटो रोज्न बाध्य बनाएको छ।

यही पृष्ठभूमिमा हाल देखिएको जेनजी आन्दोलन र यसको सामाजिक–राजनीतिक अर्थ बारे बुझ्न हामीले समाजशास्त्रका अध्येता समेत रहेका एकीकृत सरकारी कर्मचारी सङ्गठन, नेपालका महासचिव प्रकाश राईसँग कुराकानी गरेका छौँ।

उहाँका अनुसार यो आन्दोलन केवल असन्तोषको विस्फोट होइन, दशकौँको निराशाबाट जन्मिएको “विद्रोह” हो, जसले राज्य, राजनीति र समाजका ढाँचालाई पुनः सोच्न चुनौती दिएको छ।


यहाँले भदौ २३ र २४ गतेको अवस्थालाई कसरी हेर्नुभएको छ?

सर्वप्रथम यो आन्दोलन होइन, यो विद्रोह हो। विद्रोह भनेको अकस्मात् नै हुन्छ, त्यसमा नेतृत्व कसले गर्ने भन्ने पनि टुङ्गो हुँदैन। यसको सामाजिक रसायन कसरी बनेको होला भन्ने कुरा सोच्न जरुरी छ।

नेपालको संविधान २०७२ जारी भएपछि समाजमा नयाँ आशा पलाएको थियो। तर, सरकार सञ्चालन गर्नेहरूले शासन प्रणालीलाई जनमैत्री बनाउन सकेनन्, विश्वसनीय हुन सकेनन्, रोजगारी सृजना गर्न सकेनन्, भ्रष्टाचार घटाउन सकेनन्।

वैदेशिक रोजगारीमा पलायन बढ्यो, लोकसेवा तयारी गर्ने युवाको सङ्ख्या घट्दै गयो, अभाव उस्तै रह्यो। विकासले सामाजिक रूपान्तरण गर्न सकेन।

राजनीतिक दलहरू सत्ता स्वार्थका लागि विभाजित हुँदै गए, संसद् विपक्षविहीन भयो र जनताको भरोसा टुट्यो। यही अवस्थाले जेनजी आन्दोलनका रूपमा विद्रोह जन्माएको हो।

 

विद्रोहमा नेतृत्व हुँदैन भन्नुभयो, त्यसो भए यसमा कसरी समन्वय सम्भव भयो?


हो, विद्रोह हुनुभन्दा अघि नेतृत्वको पहिचान हुँदैन। आन्दोलनमा चाहिँ आह्वान, अल्टिमेटम र दस्ताबेज हुन्छन्, तर विद्रोहमा त्यस्तो चेन अफ कमाण्ड हुँदैन।

जेनजी घटनामा यही स्वतःस्फूर्तता देखिन्छ। त्यसैले यो आन्दोलन होइन — विद्रोह हो। तर, विद्रोहले यात्रा तय गर्दै गएपछि अवश्य पनि नयाँ नेतृत्व जन्माउँछ। यदि यसको व्यवस्थापन हुन सकेन भने, इतिहासमा यो नमिठो संस्मरण बन्न सक्छ।


तर, ‘जेनजी आन्दोलन’ त सेप्टेम्बर ८ का लागि नै तय भएको भनिएको थियो?

हैन, प्रयत्न र तयारी नभईकन यस्ता घटना घट्दैनन्। यसको मूल कारण सामाजिक रसायन अर्थात् दीर्घकालीन निराशा नै हो। छलफलहरू भएका होलान्, तर नेतृत्वको प्रश्न अझै अस्पष्ट छ। विद्रोहको यही विशेषता हो — त्यसपछि व्यवस्थापन कठिन हुन्छ।


राजनीतिक नेतृत्वको कमजोरी के थियो?

हाम्रो राजनीतिक नेतृत्वले धेरै सपना बाँड्यो, तर उपलब्धि दिलाउन सकेन। नेतृत्व र जनताको जीवनशैलीमा ठूला अन्तर देखिए। जनतामा “नेता भ्रष्ट छन्” भन्ने मानसिकता बढ्यो।

सार्वजनिक सेवामा भनसुन, स्वास्थ्य र शिक्षामा असमानता, र युवामा भविष्यप्रति निराशा — यी सबैले अहिलेको अवस्था ल्याएका हुन्।


युवामा बढ्दो नैराश्य र आत्महत्या — समाजशास्त्रीय दृष्टिले के सङ्केत हो?

लागूऔषध, कुलत, र आत्महत्यामा फस्ने युवाको सङ्ख्या बढ्दो छ। वैदेशिक रोजगारीमा जाने व्यक्तिहरू र उनीहरूका परिवार यसका ठूलो सिकार बनेका छन्।

सामाजिक असुरक्षा, पारिवारिक दबाब र राज्यको अनदेखीले मानिसहरू आत्महत्यासम्म पुग्ने गरेका छन्। राज्यले यस्तो समस्या पहिचान र समाधान नगर्दा आक्रोश विद्रोहमा परिणत हुन्छ।


अहिलेका युवाहरू मेहनत गर्न नचाहने पुस्ता हुन् भन्ने भनाइबारे?

यो गलत दृष्टिकोण हो। हाम्रो युवा पुस्ता भौतिकतावादी संस्कृतिबाट प्रभावित छ। तर त्यसबाट जोगाउने जिम्मेवारी सरकारकै हो। नेतृत्व आफैँ विलासी हुँदा युवालाई परिश्रमी जीवनको शिक्षा कसरी दिन सक्छ?

उद्यमशीलता प्रोत्साहनका कार्यक्रम पनि “स्रोत–फोर्स”मा आधारित हुँदा सामान्य युवाको पहुँच छैन। त्यसैले युवालाई होइन, प्रणालीलाई समीक्षा गर्नुपर्छ।


लोकतन्त्रमा जनमतको मार्ग त निर्वाचन नै हो, त्यसो भए सडकमा किन आउनुपर्‍यो?

२०७९ सालको निर्वाचनले आशा जगाउन सकेन। सत्ता स्वार्थका गठबन्धन र फेरबदलले लोकतन्त्रप्रतिको विश्वास घटायो।

जेनजी आन्दोलनले देखाएको कुरा के हो भने — यदि निर्वाचनले जनताको आवाज सुन्न सकेन भने, जनता सडकबाटै जनमत फिर्ता लिन्छन्। तर, यसले व्यवस्थाको अन्त्य होइन, चेतना जगाउने अवसर पनि दिएको छ।


अहिलेको संविधान र आगामी निर्वाचनबारे तपाईँको धारणा?

संविधान हाम्रो गौरव हो। यही संविधानले चेतना दिएको हो जसले यो विद्रोह सम्भव बनायो। त्यसैले यसको संरक्षण गर्नुपर्छ। फागुन २१ गतेको निर्वाचन कुनै पनि हालतमा सम्पन्न हुनुपर्छ। असुरक्षा अवश्य छ, तर निर्वाचन नगरी स्थायित्व सम्भव छैन।


पुराना दलहरू पुनः सत्तामा फर्किए भने के फरक पर्ला?

दलहरू खराब छैनन्, तर प्रवृत्ति सुधार गर्नुपर्छ। नयाँ दल खोल्ने होड नै समस्या हो। यसले पुनः निष्क्रिय कार्यकर्ताको भीड मात्र बढाउँछ।
युवाले साँचो अर्थमा रूपान्तरणकारी सोच ल्याउन सके भने मात्रै नयाँपन आउँछ।


प्रशासन पनि भ्रष्टाचारमा संलग्न देखिन्छ नि?

कर्मचारीतन्त्र एक्लै दोषी होइन, किनभने राजनीतिक नेतृत्वकै निर्देशनमा चल्ने प्रणाली हो। तर प्रशासनले पनि विवेक प्रयोग नगरी दासतापूर्ण व्यवहार गरेको छ।

अब प्रणालीगत सुधार आवश्यक छ — सेवाको गुणस्तर, पारदर्शिता र क्षतिपूर्तिको व्यवस्था हुनुपर्छ। राम्रो काम गर्ने कर्मचारीको मनोबल बढाउन र गलत गर्नेले दण्ड पाउने वातावरण बनाउनुपर्छ।


अबको नेतृत्व पुस्ताको आधारमा हुने कि विचारको?

पुस्ताको आधारमा होइन, योग्यता र दृष्टिकोणका आधारमा नेतृत्व हुनुपर्छ। सबै जेनजी राजनीतिमा आउनुपर्छ भन्ने होइन — जो जस क्षेत्रमा सक्षम छन्, त्यही क्षेत्रमा योगदान गर्नुपर्छ। समाज नर्सरी होइन, जङ्गलजस्तो विविधतायुक्त संरचना हुनुपर्छ।


विश्वविद्यालय र युवाको भूमिकाबारे?

विश्वविद्यालय प्रमाणपत्र उत्पादन गर्ने केन्द्र बन्नु दुःखद हो। विश्वविद्यालयले प्रदेश र देशको नीति निर्माणमा सल्लाह र अनुसन्धान दिनुपर्ने हो। उदाहरणका लागि, कोशी प्रदेशको विकासका लागि पूर्वाञ्चल विश्वविद्यालयले नीति सिफारिस गर्न सकेको भए राम्रो हुन्थ्यो।


अन्त्यमा युवालाई सन्देश?

अघिल्लो पुस्ताप्रति कृतज्ञ बनौँ — उनीहरूले ल्याएको परिवर्तनकै कारण आजको चेत सम्भव भएको हो। भौतिक विकाससँगै सामाजिक रूपान्तरणमा जोड दिनुहोस्।

विदेश अध्ययन वा रोजगारीलाई फेसनको रूपमा होइन, तुलनात्मक लाभका रूपमा लिनुहोस्। र, नेपाली समाज, संस्कृति र पहिचानमा गर्व गर्न सिकौँ।

प्रतिक्रिया

खेमराज सापकोटा
लेखकको बारेमा
खेमराज सापकोटा

सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।

सम्बन्धित समाचार