धरान : डिपो स्कुलको आयोजनामा आयोजित १९ औँ अम्बर ललित डिपो कपमा आइतबार भएको खेलमा इमानुयल बोर्डिङ्ग, दिल्ली पब्लिक, माउन्ट हर्मन र हिविकस इङ्लिस स्कुल विजयी भएका छन् ।
इमानुयलले समिट स्कुललाई ६–० गोल अन्तरले पराजित गरेको छ । खेलमा इमानुयलका सौगात श्रेष्ठ एक्लैले ५ गोल गरेका थिए भने विकेश विष्टले एक गोल गरेका थिए ।
दोस्रो खेलमा दिल्ली पब्लिक स्कुलले नोवेल एकेडेमीलाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गरे ।
निर्धारित समयसम्ममा दुवैतर्फ गोल हुन नसकेपछि खेल ट्राइबेकरमा गएको थियो । ट्राइबेकरमा दिल्ली पब्लिकका रोहन लिम्बू, सार्थक खवास, रिवन राई र आर्नभ जिमिले गोल गरेका थिए भने नोवेल एकेडेमीका साहिल राई, रेहान रसाइली र डेनिल लिम्बूले गोल गरेका थिए ।
यसैगरी तेस्रो खेलमा आयोजक डिपो स्कुललाई माउन्ट हर्मनले ३–० गोल अन्तरले पराजित गरे । खेलमा तिनै गोल माउन्ट हर्मनका युजल सेवाले गरे । आइतबारको अन्तिम खेलमा हिविकस स्कुलले सुनाखरी स्कुललाई १–० गोलले पराजित गरे ।
खेलमा हिविकसका याकुस तामाङले गोल गरेका थिए । आज भएको खेलमा समिट स्कुलका हसिव देव, नोवेल एकेडेमीका साहिल राई, डिपो स्कुलका कसम राई र सुनाखरी स्कुलका तान्छो याक्खा म्यान अफ द म्याच घोषित भए ।
उनीहरूलाई सुनसरी फुटबल संघका अध्यक्ष नवीन राई, प्रतियोगिताका संयोजक डिपो स्कुल व्यवस्थापन समिति सदस्य दीपराज राई र व्यवस्थापन समिति सदस्य सूर्य पन्दाक लिम्बूले ट्रफी र प्रमाणपत्र प्रदान गरे ।
पुष १९ गतेसम्म सम्पन्न हुने प्रतियोगिताको खेल डिपो स्कुलको खेल मैदानमा जारी रहेको छ ।
प्रतिक्रिया