पाँचथर : फिदिममा जारी ११ औँ फाल्गुनन्द गोल्डकपको फाइनल खेल सोमबार हुँदैछ । फाइनलमा चर्च ब्वाइज युनाइटेड क्लब र मछिन्द्र फुटबल क्लब भिड्दैछन् ।
प्रतिस्पर्धी दुवै टिमले उपाधि जित्न तयार रहेको दाबी गरेका छन् । फाइनलको अघिल्लो दिन भएको प्रि म्याच कन्फरेसनमा बोल्दै दुवै टिमका प्रशिक्षकले प्रतिस्पर्धी टिमको कमजोरी पहिचान गर्दै रणनीतिक रूपमा खेलेर उपाधि जित्ने विश्वस्त भए ।
उपाधि दाबेदारमध्ये चर्च ब्वाइज ०७९ सालमा भएको ए डिभिजन लिग विजेता र मछिन्द्र फुटबल क्लव उपविजेता भएका थिए ।
दुवै फुटबल क्लब यो सिजन मोफसलमा भएका प्रतियोगितामा पहिलो पटक उपाधिको लागी प्रतिस्पर्धा गर्न लागेका हुन् ।
चर्च ब्वाइज युनाइटेडले सेमिफाइनलमा आयोजक फिदिम स्पोर्टिङ क्लबलाई पराजित गरेर फाइनलमा पुगेको हो । मछिन्द्रले अर्को उपाधि दाबेदार न्यूरोड टिमलाई सेमिफाइनलमा पराजित चर्च ब्वाइजसँगको उपाधि भीडन्त सुनिश्चित गरेको हो ।
गत सातामात्र झापा कपको उपाधि जितेको चर्च ब्वाइज पाँचथरमा पनि उपाधि जित्नेमा विश्वस्त छ । फाइनलको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा चर्च ब्वाइज युनाइटेड प्रशिक्षक सुमन श्रेष्ठले उपाधिको लागि पाँचथर आएको बताए ।
मछिन्द्र राम्रो टिम भएपनि आफूहरूले गत साता झापा कपको उपाधि जित्नका साथै इलाममा उपविजेता भएको दृष्टान्तले उपाधि चुम्ने दाबी गरे ।
मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले आफ्नो टिमको तयारी राम्रो हुनका साथै मैदानमा अनुभवी खेलाडीहरू रहेकाले ट्रफी चुम्ने विश्वास दिलाए ।
मछिन्द्रका क्याप्टेन विशाल श्रेष्ठले आफ्ना खेलाडीले यसअघि दुवै खेलमा राम्रो प्रर्दशन गरेकाले दर्शकको समर्थन रहने विश्वास गरे ।
चर्च ब्वाइज युनाइटेडका क्याप्टेन एकराज बुढाथोकीले आफ्नो टिम लयमा रहेको र पछिल्ला प्रर्दशनहरू पनि राम्रो रहेकाले त्यसलाई निरन्तरता दिदैँ उपाधि चुम्ने विश्वास व्यक्त गरे ।
गोल्डकपको विजेताले नगद १० लाख पाँच सय ५५ र उपविजेताले नगद पाँच लाख पाँच सय ५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ । गोल्डकपका उत्कृष्ट खेलाडीले इलेक्ट्रोनिक स्कुटर प्राप्त गर्नेछन् ।
प्रतिक्रिया