प्रिय अभिभावकज्यू, नमस्कार !
मोडर्न प्रिपरेटोरी सेकेण्डरी स्कुलमा बालबालिकाको शिक्षा र विकासप्रति तपाईँको लगाव र समर्पण प्रेरणादायी पाएको छु ।
विद्यालयमा बालबालिकाको प्रभावकारी सिकाईका लागि शिक्षकहरूका लागि शिक्षा क्षेत्रका सम्बन्धित विज्ञहरूबाट नियमित परामर्श र उत्प्रेरणाका कक्षाहरू सञ्चालन गरिरहेका छौँ । जसले विद्यार्थीहरूका शैक्षिक विकासलाई अत्यधिक महत्त्व दिंदै आएको छ ।
बालबालिकाको उज्ज्वल भविष्यको लागि पढाई/सिकाई निकै महत्वपूर्ण विषय हो । यो विषयलाई आदरणीय अभिभावकज्यूहरूले राम्रोसँग बुझ्नु भएको कुरामा दुईमत छैन ।
आदरणीय अभिभावक ज्यूहरू, बालबालिकाको उज्ज्वल भविष्यका लागि पढाई, सिकाई एकदमै महत्वपूर्ण विषय हो । सकारात्मक अभिभावकको रूपमा तपाईंले बोल्नेभन्दा बढी नानीबाबुहरूलाई सुन्नुहोस् । नानीबाबुहरूलाई केही भन्नुभन्दा अघि आफ्नो संवेग जाँच्नुहोस् ।
कुनैपनि गतिविधिको सीमा निर्धारण गर्नुहोस् । तपाईँले नानीबाबुहरूबाट गर्ने अपेक्षा उमेर सुहाउँदो छ कि, छैन भनेर जाँच्नुहोस् । तार्किक परिणाम मात्र भोग्न लगाउनुहोस् ।
मुख्य कुरा, नानीबाबुहरुले सिक्दैछन् भन्ने कहिल्यै नबिर्सिनुहोस् । सकारात्मक अनुशासन तथा प्रारम्भिक सिकाईको उचित वातावरण दिन सक्दो प्रयास गरिदिनुहोस ।
नानीबाबुलाई सबैजनासँग स्नेहपूर्ण व्यवहार गर्नुपर्छ भन्ने कुरा व्यवहारिक रूपमा सिकाइदिनुहोस् । नानीबाबुहरूलाई कुराकानी गर्न, सरसफाइ गर्न, पोषिलो खानाको महत्व बुझ्न सहयोग गर्नुहोस् ।
यहाँलाई जानकारी नै छ, तपाईंको नानीबाबुहरूको सिकाईलाई प्रभावकारी बनाउन विद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।
सिकाईलाई आधुनिकीकरण गर्दै ‘लर्निङ म्यानेजमेन्ट सिस्टम’ को प्रयोगबाट पाठ्यक्रमले निर्दिष्ट गरेका विषयमा प्रभावकारी शिक्षणको नीति लिइएको छ । यसको प्रयोगसँगै विद्यार्थीको शिक्षण, सिकाई मजबुत बनेको छ ।
आदरणीय अभिभावक ज्यूहरू, विद्यार्थीको प्रगति र सफलता अभिभावकको सघन सहयोग बिना सम्भव छैन ।
अभिभावकले वा अन्य कसैले उहाँहरूको गृहकार्य गरिदिएमा विद्यार्थीहरूको सिकाई प्रक्रियामा नकारात्मक असर पर्ने, बालबालिकामा परनिर्भरता बढ्ने र सिर्जनशीलता कम हुनसक्ने जोखिम रहन्छ । त्यसैले, उहाँहरूले जेजति गर्न सक्नुहुन्छ, सकेसम्म आफैँ गर्न लगाइदिनु हुन विनम्र अनुरोध छ ।
नानीबाबुहरूको घरको समयलाई सदुपयोग गर्दै घरमै पढाइ र गृहकार्यलाई प्रभावकारी बनाउन तपाईंका लागि हामीले केही सुझावहरू यसै पत्रसाथ राखेका छौं । आशा छ यहाँहरूले यसलाई मनन गरिदिनुहुने नै छ ।
१. दैनिक समय तालिका बनाउनुहोस्
बालबालिकाका लागि पढ्ने र गृहकार्य गर्ने समय सुनिश्चित गर्नुहोस् । यो समय निश्चित गरिँदा उनीहरूमा नियमितता र अनुशासनको विकास हुनेछ ।
२. शान्त वातावरण सिर्जना गर्नुहोस्
गृहकार्य गर्दा बालबालिकालाई ध्यान दिन सजिलो होस् भनेर शान्त र व्यवस्थित कोठाको व्यवस्था गर्नुहोस् । उक्त समयमा टिभी, मोबाइल, वा खेलकुदजस्ता ध्यान भंग गर्ने गतिविधिहरूबाट टाढा राख्नुहोस् ।
३. सहयोगी र प्रेरक बन्नुहोस्
गृहकार्यमा समस्या परेमा सहयोग गर्ने तर, उहाँहरूलाई आफैँ समाधान खोज्न प्रोत्साहन गर्नुहोस् । समस्या समाधान गर्न आफू सक्षम भएको अनुभवले नानीबाबुहरुको आत्मविश्वास बढाउँछ ।
४. सकारात्मक प्रोत्साहन दिनुहोस्
विद्यालयबाट विद्यार्थीहरूलाई दिइने गृहकार्य सकेसम्म उहाँहरूलाई आफैँ गर्न प्रेरित गरिदिनुहोला । गृहकार्य पूरा गरेपछि प्रशंसा गर्नुहोस् । उहाँहरूले राम्रो प्रयास गरेकोमा हौसला दिनुहोस् । कहिलेकाहीँ सानो पुरस्कारले पनि नानीबाबुहरूको उत्साह थप्न सक्छ ।
५. शिक्षकहरूसँग सम्पर्क राख्नुहोस्
तपाईंका बालबालिकालाई दिइएको गृहकार्य र उहाँहरूको प्रगतिको जानकारी राख्न शिक्षकहरूसँग नियमित सम्पर्कमा रहनुहोस् । गृहकार्यमा कुनै जटिलता आएमा सम्बन्धित शिक्षकसँग विद्यालयको म्यासेन्जर ग्रुप मार्फत वा विद्यालयमा आएर परामर्श गर्नुहोस् ।
६. पढाइलाई रमाइलो बनाउनुहोस्
पढाइलाई सिर्जनात्मक र रमाइलो बनाउने प्रयास गर्नुहोस्। कठिन विषयलाई खेलका रूपमा प्रस्तुत गर्दा बालबालिका सजिलै सिक्न सक्छन् ।
७. नमूना बन्नुहोस्
बालबालिकाको लागि तपाईं आफैँ प्रेरणाको स्रोत बन्नुहोस् । पुस्तक पढ्ने बानी देखाएर वा उनीहरूको अध्ययनमा चासो देखाएर उहाँहरूलाई उत्साहित पार्नुहोस् ।
८. विश्रामका लागि समय दिनुहोस्
लामो समयसम्म गृहकार्य गर्दा थकान हुन सक्छ। त्यसैले गृहकार्यबीचमा छोटो विश्रामको समय दिनुहोस् ।
९. प्रेमपूर्वक अनुशासन सिकाउनुहोस्
गृहकार्य नगरेकोमा रिसाउनुको सट्टा यसको महत्त्व बताउनुहोस्। उहाँहरूको प्रयासलाई प्रोत्साहन गर्दै सुधार्न सहयोग गर्नुहोस् ।
बालबालिकाको उज्ज्वल भविष्य तपाईंको हातमा छ । तपाईंको माया, सहकार्य, र सहनशीलताले उनीहरूको सफलतामा ठुलो योगदान दिन्छ। कृपया यदि हामी विद्यार्थीहरूको रचनात्मकता, स्वतन्त्र सोच, र आलोचनात्मक क्षमताको विकासप्रति प्रतिबद्ध छौं । र, यो कार्यमा हामी आदरणीय अभिभावकज्यूहरूको मूल्यवान् सहयोग र सहकार्यलाई उच्च सम्मान गर्दै विश्वास गर्छौं ।
धन्यवाद !अभिभावकज्यूहरूको निरन्तर सहयोग र सहकार्यको अपेक्षा गर्दै । (पौडेल इटहरीस्थित मोडर्न प्रिपरेटोरी सेकेण्डरी स्कुलका प्रधानाध्यापक हुन् ।)
प्रतिक्रिया