धरान : धरानको आसरा सुधार केन्द्रमा खानेपानीको अभाव भएको छ । हिउँद याममा खानेपानीको अभाव हुने र बर्खायाममा धमिलो पानी आउने हुँदा सुधार केन्द्रमा जारको पानी प्रयोग गर्नुपर्ने बाध्यता उस्तै छ ।
धरान ६ पानवारीमा रेहको सुधार केन्द्रमा अहिले खानेपानीको समस्या भइरहेको केन्द्रकी प्रथम उपाध्यक्ष शिला बज्राचार्यले बताइन् ।
‘खानेपानी बोर्डले पानी दिएको त छ । तर, प्रहरी र कर्मचारीसहित डेढ सय भन्दा बढीलाई बोर्डले उपलब्ध गराएको पानीले पुग्दैन,’ उनले भन्नि, ‘बर्खामा धमिलो पानी आउने र हिउँदमा पानी अभाव नहुने समस्या छ ।’
उनले खानेपानीको अभाव हुन नदिनका लागि बोरिङ बनाउन पटकपटक प्रदेश सरकारसँग आग्रह गरेपनि प्रदेशले चासो नदिएको गुनासो गरिन् ।
‘स्थानीय र प्रदेश सरकारले समन्वय गरेर बोरिङ बनाउन सहयोग गरे खानेपानीको समस्या हुन्थेन,’ बज्राचार्यले भनिन्, ‘खानेपानीको समस्या हुँदा जारको पानी खानुपर्ने अवस्था छ । त्यो पनि फिल्टर बिना पानी खानुपर्दा स्वास्थ्यमा पनि समस्या हुनसक्छ ।’
स्थानीयवासी र नेपाल प्रहरीको सहकार्यमा ०७२ सालबाट सञ्चालनमा आएको केन्द्रमा हाल एक सय ६ जना मानिसहरू आश्रित छन् । उनीहरूमध्ये अधिकांश लागूऔषध प्रयोगकर्ता र मादक पदार्थ दुव्र्यसनीमा फसेका पुरुषहरू छन् ।
नेपाल प्रहरी श्रीमती संघ प्रदेश अन्तर्गत सञ्चालनमा रहेको केन्द्रमा प्रहरीबाट ६ जना र समुदायबाट पाँच जना गरी ११ जनाको कार्यसमिति रहेको छ ।
हालसम्म एक हजार चार सय ६० जना भर्ना भएकोमा एक हजार तीन सय ५४ जना निको भएर घर फर्किएको बज्राचार्यले बताइन् ।
‘सुधार केन्द्रमा भर्ना भएपछि चार महिना चैँ बस्नैपर्छ,’ बज्राचार्य भन्छिन्, ‘चार महिनाको कोर्षमा ७२ हजार रुपैयाँ खर्च हुन्छ । जुन संघले नै निर्धारण गरेको रकम हो ।’
करिब तीन करोडको लागतमा निर्माण भएको केन्द्रमा खानेपानीको अभाव हुँदा समस्या भइरहेको केन्द्रका व्यवस्थापक, प्रहरी निरीक्षक सागर श्रेष्ठले बताए ।
उनका अनुसार पानीको समस्या हुँदा दैनिकजसो पानीको जार किनेर ल्याउने बाध्यता रहेको छ ।
उक्त केन्द्रको मुख्य संरक्षक प्रहरी महानिरीक्षककी श्रीमती रहने र अध्यक्ष भने कोशी प्रदेशका डीआईजीकी श्रीमती रहने व्यवस्था छ ।
यसैबीच कोशी प्रदेश प्रहरी प्रमुख, डीआईजी राजन अधिकारीले सुधार केन्द्रको निरीक्षण गरेका छन् ।
केन्द्रको भौतिक संरचना, उपचाररत सदस्यहरूको आवास तथा सरसफाईको अवस्थाबारे निरीक्षण गर्दै डीआईजी अधिकारीले अन्तरक्रियासमेत गरेका थिए ।
लागूऔषधको कुलतबाट हुनसक्ने व्यक्तिगत, पारिवारिक, सामाजिक, आर्थिक समस्याका साथै अपराधिक गतिविधिलाई न्यूनीकरण गर्ने उद्देश्यले दुव्र्यसनीमा फसेका युवाहरूलाई उपचार तथा परामर्श प्रदान गर्न आवश्यक रहेको अधिकारीले बताए ।
प्रतिक्रिया