विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजनीतिक अस्थिरताका कारण अर्थतन्त्र सकारात्मक रूपमा अगाडि बढ्न नसकेको बताएका छन् ।
सरकार परिवर्तन भइरहँदा नीति पनि परिवर्तन हुने गरेकाले अर्थतन्त्रमा समस्या देखिएपनि पछिल्लो समयमा देशको अर्थतन्त्र सही दिशामा गएको मुख्यमन्त्री कार्कीले बताए ।
सोमबार विराटनगरमा एभिन्यूज टेलिभिजनले आयोजना गरेको कार्यक्रममा बोल्दै कार्कीले दुई ठूला दलहरू मिलेर सरकार बनेको र अर्थतन्त्र विस्तारै सामान्य बन्ने क्रममा रहेको जानकारी दिए ।
मुख्यमन्त्री कार्कीले अझै पनि दुई दलबीचको सहकार्य कति समयसम्म जान्छ भन्ने कुराले उद्योगी व्यवसायीहरूबीचमा त्रास उत्पन्न गर्न खोजिएकाले पनि केही कुरा अफ्ठ्यारो भएको धारण राखे ।
उनले नकारात्मक विषयलाई मात्रै सञ्चार माध्ययम र सामाजिक सञ्जालले प्राथमिकता दिदा कतिपय राम्रा विषय ओझेलमा परेको चर्चा गर्दै सरकारले पछिल्लो मौद्रिक नीति आएपछि अर्थतन्त्रमा निकै सुधार गरेको दाबी गरे ।
कोशी प्रदेश सरकारले लगानी सम्मेलन,पर्यटन वर्ष र चिया सम्मेलनको कार्यक्रमलाई अघि सारेर प्रदेशमा अर्थतन्त्र चलयामान गर्ने प्रयत्न गरेको कार्कीले बताए । उनले भने, ‘हामी नीतिगत कुराहरू प्रदेशमा हुँने प्रदेशमै र केन्द्रमा हुने केन्द्रमै गएर टुंग्याइ लगानीको वातावरण बनाउनेछौं ।’
निजी क्षेत्रलाई उत्साहित गर्न जग्गा लगायत विद्युतका विषयमा सहुलियत दिन छलफल सुरू गरिएको जानकारी दिदै उनले जग्गाको खोजी भइरहेको बताए ।
प्रदेशले मात्रै नीति बनाएर नपुग्ने यसमा संघ सरकारले पनि ध्यान दिनुपर्ने अवस्थालाई मध्यनजर गर्दै काम अगाडि बढेको उनको भनाई छ ।
प्रतिक्रिया