इटहरी : मोरङको सुन्दरहरैँचामा सामुदायिक वनभित्र महिलाको शव फेला परेको छ ।
घटनाको प्रकृति हेर्दा हात्ती आक्रमणबाट मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुन्दरहरैँचा नगरपालिका ५ स्थित नमुना सामुदायिक वनमा गुरुङ टोल बस्ने ६० वर्षीया चन्द्रकुमारी लिम्बूको शव फेला परेको हो ।
‘सामुदायिक वनमा घाँस, दाउरा काट्न गएको र घर नफर्किएको सूचना आएपछि प्रहरी र स्थानीयबासीले खोजी गरिएको थियो,’ एक प्रहरीले भने, ‘आज बिहान सामुदायिक वनभित्र फेला पारिएको हो । शव फेला परेनजिकै हात्तीको पाइला छ ।’
उनका अनुसार मृतक महिला सोमबारदेखि घर नआएपछि खोजी कार्य जारी राखिएको थियो ।
शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
‘घटनाको प्रकृति हेर्दा हात्तीले आक्रमण गरेर मृत्यु भएकोजस्तो देखिन्छ, पोस्टमार्टम रिपोर्ट नआइकन यसै भन्न सकिन्न,’ उनले भने, ‘घटनास्थलमा हात्तीको पाइला भेटिनु र मृतक महिलाको शवमाथि माटो छर्किएको देख्दा हात्तीले आक्रमण भएको अनुमान लगाउन सकिन्छ ।’
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया