उदयपुर : कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजन अधिकारीले पुस १७ गते जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण भ्रमण गरेका छन् ।
भ्रमणको क्रममा उनले कार्यालय भवन, सम्पुर्ण शाखाहरू, ब्यारेक लगायत हिरासत कक्षको निरीक्षण गरेका थिए । साथै कार्यालय परिसरभित्र वृक्षारोपणसमेत गरेका थिए ।
निरीक्षणपश्चात प्रदेश प्रहरी प्रमुख अधिकारीले जिल्ला प्रहरी कार्यालय उदयपुर तथा मातहत कार्यालय प्रमुखहरूसहित कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशनसमेत दिएका छन् ।
निर्देशनको क्रममा उनले सुरक्षा नै समाजको मेरूदण्ड रहेको र प्रहरी सुरक्षाको मेरुदण्ड रहेको बताए । मुटु अनवरत धड्के जसरी प्रहरीले आ–आफ्नो पदीय दायित्व अनुसार त्रृटीरहित तवरबाट कार्य सम्पादन गर्न र आईपर्ने चुनौतीहरूलाई सामना गर्न एक निर्भीक, इमानदार र बफादार राष्ट्र सेवकको रूपमा खटिनुपर्ने बताए ।
उनले शान्ति सुरक्षा कायम राख्न आर्थिक प्रलोभनमा नपरी शून्य सहनशीलतामा रही व्यावसायिक प्रहरीको भूमिका निर्वाह गर्न तथा सवारी दुर्घटना, साईबर अपराध, लागूऔषधको प्रयोग तथा ओसारपसार, ठगी र अन्य अपराधका घटनाहरूलाई नियन्त्रण र निरुत्साहित गर्न योजनाबद्ध रूपमा परिचालन हुन निर्देशन दिए ।
निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक हरिहरनाथ योगीले प्रदेश प्रहरी प्रमुखलाई उदयपुरको समग्र शान्ति सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, भावी कार्य योजना, सुरक्षा चुनौतीहरूबारे जानकारी गराएका थिए ।
प्रतिक्रिया