झापा : जङ्गली हात्तीको आक्रमणमा कचनकबल वडा नं ७ की ३४ वर्षीया केलावती राजबंशीको आज मृत्यु भएको छ ।
स्थानीय दीपज्योति सामुदायिक वनमा गाउँका महिलाहरूसँग दाउरा खोज्न गएकी राजबंशी आज (बुधबार) दिउँसो १२ बजेतिर एउटा हात्तीले लखेटेपछि जङ्गलमै हराइरहेकी थिइन् ।
हात्तीको लखेटाइमा महिला बेपत्ता भएको खबर पाएपछि नौ किलोमिटर टाढा रहेको इलाका प्रहरी कार्यालय बनियानीबाट प्रहरी नायव निरीक्षक रोहित मगरको नेतृत्वमा प्रहरीको टोलीले जङ्गलमा खोजी गर्दा उनलाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि सुरूमा भद्रपुरको ओम साई पाथीभरा हस्पिटल पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले बताए ।
मरणासन्न अवस्थामा रहेकी घाइतेलाई थप उपचारका लागि भद्रपुरकै प्रादेशिक अस्पतालमा लगिएको थियो । प्रादेशिक अस्पताल पुर्याउनासाथ चिकित्सकहरूले घाइतेलाई मृत भइसकेको घोषणा गरेको चन्दले जानकारी दिए ।
चन्दका अनुसार महिलालाई आक्रमण गर्ने हात्ती अहिले पनि जङ्गलभित्रै रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
प्रतिक्रिया