धरान : पुलिस स्कुलले लगातार चौथो पटक ललित अम्बर डिपो कपको उपाधि चुमेको छ ।
डिपो स्कुलको आयोजनामा पुस १२ गते देखि सुरु भएको १९ औँ अम्वर ललित डिपो कपको शुक्रवार भएको फाइनल खेलमा आयोजक डिपो स्कुल रेड टिमलाई टाइब्रेकरमा पराजित गर्दै लगातार चौथो पटक पुलिस स्कुलले उपाधि चुमेको हो ।
प्रतिस्पर्धात्मक भएको खेलमा निर्धारित समयमा दुवैतर्फ कुनै गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ४–२ गोल अन्तरले डिपोलाई पराजित गरेको हो । टाइब्रेकरमा पुलिस स्कुलका बिनायक निरौला, मनिकुमार लिम्बू, अङ्शु बास्फोर र नियुस खड्काले गोल गरेका थिए । यसैगरी डिपो स्कुलका कुशल राई र करन खड्काले मात्र गोल गरे ।
प्रतियोगिताका विजेताले नगद ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेताले नगद सात हजार एक सय ११ र तेस्रो उपाधि विजेता इमानुयलले पाँच हजार एक सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
यसैगरी दिलबहादुर प्लेट च्याम्पियनका उपाधि विजेता जोलसाय स्कुलले नगद तीन हजार र उपविजेता आयोजक डिपो स्कुल पहेँलो टिमले नगद दुई हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । डिपो कपको तेस्रो उपाधि र प्लेट च्याम्पियनको उपाधिको खेल बिहीबार आयोजना भएको थियो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी डिपो स्कुलका कृशल राई, म्यान अफ द म्याच डिपो स्कुलका कुशल राई, राइजिङ प्लेयर डिपो स्कुलका इसाक लावती, उत्कृष्ट गोलकिपर पुलिस स्कुलका ओमकुमार सिंह र हाइ स्कोरर इमानुयल स्कुलका सौगात श्रेष्ठ घोषित भए ।
उनीहरूले ट्रफी, प्रमाणपत्र र फ्रेन्ड्स सिनेमाको दुई वटा फ्री टिकट प्राप्त गरे ।
कार्यक्रमका सभाध्यक्ष डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन अम्बरबहादुर लिम्बू, प्रमुख अतिथि धरान उपमहानगरपालिका उपमेयर अइन्द्र विक्रम बेघा, प्रतियोगिता संयोजक दीपबहादुर राई, सुनसरी फुटबल संघका अध्यक्ष नवीन राई, व्यवस्थापन समिति सदस्य सूर्य पन्धाक लिम्बू, प्राचार्य राजकुमार राई लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा १६ टिमले सहभागिता जनाएको थियो ।
प्रतिक्रिया