विराटनगरमा तीनजना सवार मोटरसाइकल ट्रकमा ठोक्कियो, चालकको मृत्यु, दुई घाइते

शुक्रबार, १९ पुस २०८१
विराटनगर : विराटनगरमा शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको ट्रकमा तीन जना सवार मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार विराटनगर महानगरपालिका–१४ स्थित आईसीपी रोडमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकलमा सवार अन्य दुई जना घाइते भएको उनले बताए । उनका अनुसार नयाँ भन्सार कार्यालय (आईसीपी)बाट विराटनगरतर्फ आउँदै गरेको कोइला लोड गरिएको जेएच १५ जे ७१०३ नम्बरको ट्रकमा विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प १३२१ नम्बरको मोटरसाइकल साँझ ५ः२५ बजेतिर ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परेर मोटरसाइकलमा सवार तीन जना घाइते भएका थिए । घाइतेमध्ये मोटरसाइकल चालक विराटनगर–१५ का अन्दाजी १६ वर्षीय सुरज ठाकुरको मृत्यु भएको जानकारी जोशीले दिए । उपचारका लागि कोशी अस्पताल पुर्याउनसाथ साँझ ६ बजेतिर सुरजलाई चिकित्सकले मृत घोषित गरेको उनले बताए । दुर्घटनामा परेर मोटरसाइकलमा सवार विराटनगर–१५ का अन्दाजी १६ वर्षीय आदित्य साह र विराटनगर–१४ का अन्दाजी १८ वर्षीय विकासकुमार यादव घाइते भएका छन् । घाइतेमध्ये आदित्वको अवस्था मध्यम र विकासको अवस्था सामान्य रहेको डीएसपी जोशीले बताए । कोइला लोड गरिएको ट्रक दुर्घटनालगत्तै सडकको साइडमा पल्टिएको थियो । उक्त ट्रक उठाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्रक चालक फरार रहेकाले खोजी तीव्र पारिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार