पाँचथर : गत असोज दोस्रो साता गएको बाढीले मुहानसँगै अन्य संरचनामा क्षति पुगेपछि खानेपानी अभाव झेलिरहेको पाँचथर सदरमुकाम फिदिमका उपभोक्तालाई सहुलियत दिन विभिन्न ५ वटा मुहानबाट ल्याइएको खानेपानी उद्घाटन गरिएको छ ।
फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले विभिन्न दातृ निकाय, सरोकारवाला संघ संस्था र उपभोक्ताको सहयोगमा जडान गरेर ल्याइएका मुहानको पानी उद्घाटनसँगै अब फिदिममा पानीको आपूर्ति सहज हुने बताइएको छ ।
फिदिम खानेपानी सरसफाई उपभोक्ता समितिले खानेपानी डिभिजन कार्यालय पाँचथर, संघीय खानेपानी कार्यालय इलाम र उपभोक्ताका घरमा देउसी खेलेर संकलन गरेको रकमसहित ६ करोड ५१ लाख रुपैयाँको लागतमा नाम्दु र सिस्नेरी हित विभिन्न स्थानबाट पानी ल्याएर फिदिम १ स्थित ट्याङ्कीमा ल्याएको हो ।
सोही पानीको भल्व खोलेर उद्घाटन गरिएको हो । मुहान उद्घाटनको अवसर पारेर उपभोक्ता समितिले पानी सञ्चालनमा सहयोग गर्ने विभिन्न संस्था र व्यक्तिहरूलाई सम्मान समेत गरेको छ ।
बाढीका कारण फिदिममा पानी आपूर्ति गर्ने मुख्य मुहान अझै सञ्चालनमा आउन सकेको छैन । उक्त मुहान सञ्चालनमा आउन अझै ६ महिना लाग्ने अध्यक्ष प्रकाश गुरुङले जानकारी दिए ।
प्रतिक्रिया