मोरङमा हाडनाता करणी मुद्दाका कैदीको मृत्यु

शनिबार, २० पुस २०८१
विराटनगर : मोरङको बेलबारी घर भएका एक जना वृद्ध कैदीको शनिबार दिउँसो मृत्यु भएको छ । बेलबारी नगरपालिका–४ का ६७ वर्षीय अम्मरबहादुर राईको मृत्यु भएको हो । राई विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका कैदी हुन् । उनी हाडनाता करणी मुद्दामा दोषी ठहर भएका थिए । मोरङ कारागारका जेलर गौरव ढुंगेलले श्वासप्रश्वासमा समस्या भएपछि राईलाई उपचारका लागि दिउँसो २ः१५ बजेतिर कोशी अस्पतालमा भर्ना गरिएको जानकारी दिए । उपचारकै क्रममा दिउँसो ३ः५० बजेतिर चिकित्सकले मृत घोषित गरेको उनको भनाइ छ । जिल्ला अदालत मोरङले राईविरुद्ध दर्ता भएको हाडनाता करणी मुद्दाको फैसला २०७३ साल माघ ९ गते गरेको थियो । मुद्दाको फैसला गर्दै अदालतले उनलाई १४ वर्ष कैद सजाय सुनाएको थियो । राईलाई प्रहरीले २०७३ जेठ ६ गते पक्राउ गरेर अनुसन्धान एवं कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको थियो । अदालतको फैसला अनुसार सजाय भुक्तान गरिरहेका बेला अचानक बिरामी परेका राईको अस्पताल पुर्याएको केहीबेरमै मृत्यु भएको जानकारी जेलर ढुंगेलले दिए । अदालतको फैसला अनुसार राईले २०८७ साल जेठ ५ गतेसम्म कैद भुक्तान गर्नुपर्ने हुन्थ्यो । राईको शव कोशी अस्पतालमै रहेको र परिवारका सदस्यले आइतबार बुझ्ने जानकारी दिएको जेलर ढुंगेलको भनाइ छ । मोरङ कारागारमा क्षमताभन्दा बढी राखिएका कारण कैदीबन्दीको दैनिकी निक्कै सकसपूर्ण बनिरहेको छ । कैदीबन्दीलाई बस्ने, खाने र सुत्ने ठाउँको अभाव छ । महिला र पुरुष गरेर ३ सय जना क्षमताको कारागारमा हाल एक हजार एक सय १० जना कैदीबन्दी रहेको ढुंगेलले बताए । उनका अनुसार कारागारमा हाल पाँच जना आश्रित बालबालिका, एक सय दुई जना महिला र एक हजार तीन जना पुरुष छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार