धरान : उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली काँग्रेस र नेकपा एमालेसहितको अहिलेको गठबन्धनको विकल्प नभएको बताएका छन् ।
आइतबार प्रेस युनियन सुनसरीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सिंहले सरकार गठनका बेला भएको सहमति अनुसार नै आउने निर्वाचनसम्म गठबन्धन कायम रहने बताए ।
उनले सरकार गठन अघि भएको सहमतिमा काँग्रेस र एमाले इमानदार रहेको दाबी गर्दै सरकार परिवर्तन नहुने दाबी गरे ।
सहमतिअनुसार नै एमाले अध्यक्ष केपी ओलीपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उनले बताए ।
'आउने निर्वाचनमा काँग्रेस र एमालेबिच प्रतिस्पर्धा हुने कुरा दुवै पार्टीलाई थाहा छ । परिस्थितिको आवश्यकता अनुसार अहिलेको सरकार बनेको छ । हामी अहिले सँगै सरकारमा रहेर काम गरिरहेका छौँ', उपप्रधानमन्त्री सिंहले भने , 'यो भन्दा अगाडीको सरकारले पूरा गर्न नसकेका विकास कामहरू यो सरकारले गरिरहेको छ ।'
त्यस्तै,सिंहले संविधान संशोधन कुनै एक दलले चाहेर मात्र नहुने भन्दै त्यसका लागि सबै दलसँग छलफल भइरहेको बताए ।
अहिलेको सरकारले यसअघि सम्पन्न हुने नसकेका आयोजनालाई सञ्चालनमा ल्याएको उदाहरण दिँदै उनले सरकारले हल्ला नगरी काम गरिरहेको बताए ।
जनचाहनाअनुसार आर्थिक समृद्धि र विकास निर्माणका काम सरकारको प्राथमिकतामा रहेको सिंहको भनाई थियो । पत्रकार भेटघाटका काँग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मासहितका नेता तथा कार्यकर्ताहरू सहभागी थिए ।
प्रतिक्रिया