प्रतिवेदनमा नयाँ राजनीतिक कोर्स–एमाले र नेपाली काङ्ग्रेससँगको गठनबन्धनको आवश्यकता, औचित्य र अवसर, यस गठनबन्धनपछिका छ महिना, अस्थिरता, अराजकता र प्रयोजित निराशाका प्रयास, बदलिँदो विश्व परिवेश र नेपालको पराराष्ट्र नीति, उपनिर्वाचनको समीक्षा र निर्णायक राष्ट्रिय शक्तिको निर्माण आदि विषयवस्तु रहेका छन् ।
नयाँ सरकार गठनपछि राजनीतिक स्थायित्वको सन्देश मिलेको, साझा नीतिगत प्रतिबद्धता र सङ्कल्प जारी भएको, सरकार सञ्चालनमा सहजीकरणका लागि आवश्यक संरचना बनाइएको, अर्थतन्त्रमा सुधार आएको, सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पारित भएको, राष्ट्रिय हितको रक्षा र सन्तुलित बाह्य सम्बन्ध कायम गरिएको, सहकारी क्षेत्रको बेथितिमाथि हस्तक्षेप गरी बचतकर्तालाई न्याय तथा अनियमिततामा सम्लग्नलाई सजाय दिन थालिएको र विकास निर्माणले गति लिएको जस्ता मुख्य उपलब्धि हासिल भएको अध्यक्ष ओलीले प्रस्तुत गरे ।
बैठकमा राजनीतिक प्रतिवेदनका साथै साङ्गठनिक कामको सङ्क्षिप्त जानकारी, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक ९८–९, वैशाख, २०८१० पछि भएका केन्द्रीय सचिवालय र पोलिटब्युरो बैठकका निर्णहरुको जानकारी, केन्द्रीय आयोगका अध्यक्षहरुको सम्बोधन, समसामयिक प्रस्ताव र विविध विषय कार्यसूची रहेको महासचिव शङ्कर पोखरेलले बैठकमा जानकारी गराएका थिए ।
उनले आज र भोलिमा बैठक सम्पन्न नभए पर्सीका लागि पनि जारी रहन सक्ने बताए ।
बैठकमा पोलिटब्युरो सदस्य सूर्यबहादुर थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरु निरज आचार्य र विष्णु रिजाल रहेको बहस नोट कमिटी तथा केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमको संयोजकत्वमा स्थायी कमिटी सदस्यहरु रघुजी पन्त र खगराज अधिकारी रहेको समसामयिक प्रस्ताव समिति गठन गरिएको छ ।
प्रतिक्रिया