विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले कोशी प्रदेश प्रहरी गणको निरीक्षण भ्रमण गरेका छन् ।
निरीक्षणको क्रममा अधिकारीले कार्यरत प्रहरी कर्मचारीहरू, सम्पूर्ण शाखाहरू, मेष, ब्यारेक लगायतको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन समेत दिएका छन् ।
निर्देशनको क्रममा उनले प्रहरी कर्मचारीहरूले सैद्धान्तिक र व्यावहारिक रूपमा हासिल गरेका ज्ञान र सिपलाई समय सापेक्ष कर्तव्य निष्ठ भएर उच्च मनोबलका साथ व्यावसायिक तवरबाट कार्य सम्पादन गर्न तथा अनुशासित र चेनअफ कमान्ड अनुसार सांगठानिक नीति र निर्देशनको पालना गरी आफ्नो पदीय दायित्व अनुसार सुम्पिएको जिम्मेवारी बहन गर्न निर्देशन दिए ।
निर्देशनकै क्रममा प्रमुख अधिकारीले प्रहरी जनताको जिउ धनको सुरक्षाको निम्ति खटिने सङ्गठन भएकोले जुनसुकै बेला हुन सक्ने सम्भावित खतरा, विपद्, हुलदङ्गा लगायत सुरक्षाका चुनौतीहरूमा परिचालित हुनको निम्ति शारीरिक तथा मानसिक रूपमा तयारी अवस्थामा रहन निर्देशन दिए । यसका साथै प्रदेश प्रहरी प्रमुख अधिकारीले प्रहरी कर्मचारीहरूबाट हुने गैर जिम्मेवार र आचरण विपरीतका कार्यमा क्षम्य नहुने समेत बताए ।
अधिकारीले भिड नियन्त्रणको क्रममा प्रहरी घाइते हुँदा पनि नागरिकलाई सुरक्षा प्रदान गरी समाजमा शान्ति सुरक्षा र अमन चयन कायम राख्न अहम् भूमिका निर्वाह गर्दै आइरहेको उल्लेख गर्दै त्यस्तो अवस्थामा प्रहरीले जनतालाई विशेष प्राथमिकतामा राखेर संयमित भई जनधनको क्षति हुन नपाउने गरी शान्ति सुरक्षा कायम राख्नु प्रहरीको कर्तव्य रहेको बताउँदै यस्तो कार्यले सङ्गठनको छवि उच्च हुने विश्वास व्यक्त गरे ।
निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी गण रानी विराटनगरका गणपति प्रहरी उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले गणको जनशक्ति परिचालन, दैनिक कार्य तालिका तथा सम्पादित कार्यहरूका बारेमा प्रस्तुती दिएका थिए भने प्रदेश प्रहरी प्रमुख अधिकारीले कार्यालय परिसरमा वृक्षारोपण समेत गरेका थिए ।
प्रतिक्रिया