धरान आएर भीम रावलले भने - देशैभरी गएर जनताका कुरा सुनेर मात्रै दल दर्ता गर्छु

आइतबार, २१ पुस २०८१
धरान: नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्व नेता डा.भीम बहादुर रावलले देशैभरी गएर जनताका कुरा सुनेर मात्रै दल दर्ता गर्ने  बताएका छन्  । पार्टी कारबाहीमा परे लगत्तै देश दौडाहामा निस्किएका डा. रावलले आइतबार धरानमा आयोजना गरेको 'मातृभूमि जागरण अभियान' सम्बन्धी पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् । सबै शक्ति जनता रहेको र जनताको शक्तिलाई सङ्गठित बनाउन मातृभूमि जागरण अभियान सञ्चालन गरेको उनले बताए  । 'मेरो उद्देश्य देशको राष्ट्रको झन्डा जस्तै स्पष्ट छ, नेपाललाई नेपाल जस्तो बनाऊ भन्ने हो', उनले भने । 'पार्टी माध्यम हो पार्टी भन्दा माथि देश हुन्छ, पार्टी त फुट्छन् जुट्छन् तर नेपाली हामी रहनको लागी नेपाल रहन जरुरी छ ।' रावलले बिचार सिद्धान्त विनाका पार्टीसँग सत्ता गठबन्धन गरेर देशलाई भ्रममा राखेको बताएका छन् ।  सत्ता गठबन्धन गरेर सरकारमा रहेका पार्टीहरूले सत्ताको दुरुपयोग र अनैतिक राजनीतिद्वारा जनताहरूलाई भ्रमको खेती गरिरहेको डा.रावलले बताए  । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा रहेर ५१ वर्षको राजनीतिक जीवनमा विद्यार्थी, बुद्धिजीवी, मानव अधिकार र पार्टी सङ्गठनको निर्माण, सञ्चालन र विस्तारमा निरन्तर योगदान गरी पार्टी र सरकारका महत्त्वपूर्ण जिम्मेवारीमा रहेर देश, जनता र पार्टी प्रति इमान्दारीका साथ कुशलताका साथ आफूले काम गरेको उनले बताए । पार्टीमा विभिन्न समयमा उत्पन्न आन्तरिक समस्या समाधान गर्न भूमिका निर्वाह गरी यातायात र सञ्चारको अभाव भएको सुदूरपश्चिममा पार्टी सङ्गठन निर्माण र विस्तारमा नेतृत्वदायी भूमिका आफूले खेलेको डा रावलले बताए  । हाल एमाले पार्टीको रङ्ग खुइलिएर बामालेमा परिणत भएको छ अध्यक्ष केपी शर्मा ओलीले सत्ताको दुरुपयोग र अनैतिक राजनीति गर्दे पार्टीमा ‘बा ’ शब्दलाई शक्तिशाली बनाएको डा. रावलले बताए । पार्टीमा रहेर पार्टीका नेता कार्यकर्ता बिच भ्रमको खेती गर्दे व्यक्तिवादी सोच हाबी गर्दे बामाले पार्टी बनाएको आरोप उनले लगाए । पार्टीको बिचार सिद्धान्त, एजेन्डा नीति नियमलाई थाती राख्दै पार्टी अध्यक्ष ओलीले ठट्टा र उखान टुक्काले पार्टी र देश चलाएको उनले  आरोप लगाए । देश समृद्ध र शक्तिशाली विकासशील बनाउनु पर्नेमा उल्टै एसियाली विश्व बैकबाट ऋण ल्याएर ओली सरकारले जनतालाई ऋणको भार बोकाउँदै देशको ढुकुटी रित्याउने चाल रचेको आरोप समेत उनले लगाए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार