मोरङ । नेपाली काङ्ग्रेस कोशी प्रदेशले यही पौष २४ गतेबाट आयोजना गर्ने 'कचनकवल-सगरमाथा जागरण अभियान' को तयारी पूरा भएको जनाएको छ ।
नेपाल कै होचो भू-भाग झापाको कचनकवलमा आगामी बुधवार उद्घाटन गर्ने अभियानको सम्पूर्ण तयारी पूरा भएको कोशी काङ्ग्रेसका प्रवक्ता यदु विष्टले जानकारी दिए ।
सङ्गठन सुदृढीकरण, ऐतिहासिक खोज संवृद्धिका आधार र जलवायु परिवर्तनको मुख्य उद्देश्यसहित सञ्चालन गर्ने अभियानको उद्घाटन समारोहमा नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा , पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला सहित केन्द्रीय नेताहरूको उपस्थिति रहने प्रवक्ता विष्टले बताए ।
उद्घाटन समारोहमा कोशी काङ्ग्रेस स्वास्थ्य विभाग र ॐ साई पाथीभरा हस्पिटलको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुनेछ भने नेविसंघ र तरुण दलको संयोजनमा रक्तदान आयोजना गरिने उनले बताए ।
कार्यक्रममा सबै केन्द्रीय सदस्यहरूले शान्तिको प्रतिकका रूपमा परेवा उडाउने छन् भने कोशी प्रदेशका १४ वटै जिल्लाका सभापतिहरूले सगरमाथा र तराईको प्रतिकका रूपमा सेतो र निलो बेलुन उडाउने बताइएको छ ।
उद्घाटन समारोहमा २०२८ सालको वामपन्थी आन्दोलन, झापा आन्दोलन र माओवादीको सशस्त्र युद्ध सहित विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाउने शहीदहरू बुटन चौधरी, गोपाल टुडु, उत्तरकान्त चौधरी, विश्वनाथ घिमिरे, राम आचार्य, श्यामसुन्दर यादव लगायतको परिवारलाई सम्मान गरिने बताइएको छ ।
७ महिनासम्म चल्ने जागरण अभियानको समापन असार २० गते सगरमाथाको आधार शिविरमा गरिने प्रवक्ता विष्टले बताए ।
प्रतिक्रिया