लालबहादुरले ८१ वर्षको उमेरमा पाए नागरिकता, खस्यो हर्षको आँसु

सोमबार, २२ पुस २०८१
पाँचथर : पाँचथरको फालेलुङ गाउ‘पालिका ३ माङलेबुङका लालबहादुर थाम्सुहाङले ८१ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेका छन् । उनलाई जिल्ला प्रशासन कार्यालय पाँचथरले यत्तिका उमेरमा नागरिकता प्रदान गरेको हो । साबिक मेमेङ ६ बुङछेनडॉडामा विक्रम सम्बत २००० सालमा जन्मेका लालबहादुर १९ वर्षको उमेरमा भारतको हिमाञ्चल प्रदेश गएर परिवारसँग सम्पर्कविहीन भएका थिए । घर छोडेको ६० वर्ष पुग्नैलाग्दा उनका भाई रामप्रसाद थाम्सुहाङले खोजेर ल्याएपछि उनलाई नागरिकता दिलाउने प्रक्रिया सुरू गरिएको थियो । ‘लालबहादुरले हिमाञ्चल प्रदेशमै काम गर्ने शिलशिलामा विवाह गरेर ६ छोरी र २ छोरा जन्मिएका रहेछन् । खोज्दै जाँदा फेला पारें ।’ रामप्रसादले भने । रामप्रसाद भारतीय सेनाबाट सेवा निवृत्त कर्मचारी हुन् । आफूले लामो समय जागिर खाँदा भारतको विभिन्न स्थानमा नेपाली बस्तीबारे बुझेकाले पनि खोजी गर्न सहज भएको उनले बताए । ६ दशक अगाडि घर छोडेपनि दाजुभाईका नाममा रहेको गोश्वारा जग्गा,धनीपुर्जा र तीनपुस्ता खुल्ने विभिन्न प्रमाण भेटिएकाले नागरिकता सिफारिस दिइएको फालेलुङ ३ को वडा कार्यालयले जनाएको छ । फालेलुङबाट सिफारिस ल्याएसँगै उनको नागरिकताका लागि प्रमाण जुटाउन फिदिम १० का वडाध्यक्ष होमराज थाम्सुहाङले पनि पहल गरेका थिए । उनको नागरिकतामा ८४ वर्षीय दाजु टेकबहादुर र ७९ वर्षीय भाई रामप्रसादले सनाखत गरेका छन् । लामो समय भारत बसेका लालबहादुर स्पष्टसँग नेपाली बोल्द सक्दैनन् । दाजुको नागरिकता बनेपछि रामप्रसादले हर्षका आँसु खसाएका थिए । ‘हराएका दाजु कहाँ होलान् ? मरे कि बाँचे ? चिन्ता लागिरहन्थ्यो । खोजेर ल्याएपछि नागरिकता दिलायौं असाध्यै खुशी लागेको छ,’ रामप्रसादले भने ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार