पाँचथर : गत असोज दोस्रो साता अविरल वर्षासँगै गएको पहिरोले घर भत्केपछि विचल्लीमा परेका फालेलुङ ५ लुदिनटारका चौथमान तामाङलाई सशस्त्र प्रहरीले घर बनाइदिएको छ ।
सशस्त्र प्रहरीको फिदिम हिमशिखर गुल्म अन्तगत विओपी भैंसेबाट खटेका सशस्त्र प्रहरी कर्मचारीले तामाङ परिवारका लागि ढुङ्गा, माटो, काठ र चित्रा प्रयोग गरेर एक तला र दुई कोठा भएको घर निर्माण गरिदिएका हुन् ।
‘सिमाबासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम मार्फत सशस्त्र प्रहरी दिवस लक्षित गरी घर निर्माण गरिएको हिम शिखर गुल्मका प्रमुख (डीएसपी) कुमार बरालले जानकारी दिए ।
घर निर्माणका लागि सशस्त्र प्रहरीका सात जना जनशक्तिले निरन्तर पाँच दिनसम्म श्रम सहयोग गरेका थिए ।
घर निर्माणका लागि स्थानीय नागरिक, सामुदायिक वन, फालेलुङ गाउँपालिका र वडा कार्यालयबाट सहयोग गरिएको थियो ।
तामाङ परिवारका लागि बनाइएको घर सोमबार हस्तान्तरण गरिएको छ । सशस्त्र प्रहरीका डीएसपी बराल नेतृत्वको टिमले घर हस्तान्तरण गरेको हो ।
घर बुझ्दै तामाङले नयाँ घर आफ्ना लागि वरदान साबित भएको बताए ।
प्रतिक्रिया