प्रतिवादका रंगहरू

शनिबार, २७ पुस २०८१
आफूले २६ वर्षको उमेरमा तीन सय पृष्ठको ‘अनायास’ उपान्यास २९ दिनमा लेखिसक्दा अहिलेको जस्तो ‘युग’ थिएन । अहिलेको युग डिजिटल युग–लेख्न पढ्न सजिलो युग १ यसलाई यथासम्भव आफ्नो भावना पोख्ने माध्यमका रूपमा प्रयोग गरिरहन मन लाग्छ । यद्यपि, समयाभावले त्यो सम्भव रहन्न । यसमा सचेत पनि रहनुपर्छ कि, कहिलेकाहीँ मानवीय स्वभावका कारण आवेगजन्य शब्दहरू पनि प्रयोग हुन सक्छन् । त्यसैले भरिसक्के जोगिनुपर्छ । यसो भनिरहँदा थोरै आफ्नै शैसवकाल कोट्याउँ : १४ वर्षकै उमेरदेखि नाममा उपनाम जोड्ने त्यो वेलाको लहरअनुसार नाम पछाडि उपनाम ‘आभूषण’ लेख्न थालियो । २०३६ सालमा नागरिकतामा पनि त्यस्तै पुरा नामका रूपमा बिष्णु आभूषण राई बनाइयो । तर, क्याम्पस पढ्न जाँदा प्रमाणपत्रसँग नमिलेपछि सच्याउन बाध्य भइयो । पिता डिल्लिप्रसाद राई प्रतिवन्धित कालदेखि नेपाली काँग्रेसको जिल्ला सदस्य, स्वभाविक रूपमा पनि कलेजदेखि नेपाल विद्यार्थी संघको अनुयायी । तर पनि प्रगतिशील साहित्य पनि खुब पढियो । जसको कारणले मेरो स्वभाव अन्याय, अत्याचारका विरुद्ध आक्रामक रहँदै गयो । २०४२ सालमा शान्ति मावि छोरम्बुमा शिक्षक रहँदा सायद त्यसकै नजानिदो मनोविज्ञानले होला, तत्कालीन मित्र शिक्षक शम्भु खड्का र म भएर गाँउ पञ्चायतको ढोका तोडेर पन्चायती व्यवस्थाको विरोध गर्ने उत्ताउलोपन देखा परेको होला ? लाग्थ्यो–शोषक सामन्तको व्यवस्था हो पञ्चायत । त्यतिखेर २२ वर्षे अल्हड ठिटो न परियो । उपन्यास अनायासमा पनि जालिझेलीभित्रका विरूद्धमा नै तानावाना लेखिएछ । अन्तमा उक्त पात्र दयानन्दको दयनीय अवसानबाट उपन्यास सिद्दयाइएको छ । नाम दयानन्द प्रतीकात्मक थियो । नाम जे भए पनि काम हेर्ने हो भन्न खोजिएको थियो, उपन्यासमा । दयानन्द क्रुर र निर्मम पात्र हो । उसको अवसान भने अत्यन्त दारुण भयो ! अकुत सम्पति कमाउनु भ्रष्टाचार हो भन्ने पछिसम्म मेरो मनोविज्ञानमा रह्यो । पदमा रहँदा जग्गा जमिन किनेर ऐस, आराम गर्नुहुन्न भन्ने जिल्ला विकास समितिको सभापति हुँदा र पछिसम्म पनि यो मानसिकता रहिरह्यो । सायद २०४७ सालदेखि २०७० सालसम्म यही मानसिकताले दिक्तेल बजारमा डेरामै बसेर राजनीति गरियो । तर, सधै डेरामा बसेर राजनीति गर्दा जिन्दगी अस्तव्यस्त पनि हुँदोरहेछ । न खानुको टुंगो, न बस्नुको ! २०५४ सालमा जिविस सभापतिबाट निवृत्त भएपछि २०५६ र २०६४ सालको निर्वाचनमा मैले आफ्नो नाम सांसद पदका लागि सिफारिस गर्न मानिनँ । २०६४ सालमा त तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले मलाई सोध्दा मैले नै अनिच्छा प्रकट गरेँ । कारण तत्कालीन खोटाङका सांसद शिवकुमार बस्नेतको भिजन र काम गर्दा सबैलाई सोधेर विकास निर्माणको गतिलाई अगाडि बढाइरहनु भएकोले पनि मैले साथ सहयोग दिन उचित ठानेँ । २०७० सालमा म ५० वर्ष पुगेको थिएँ । त्यो वर्ष दोस्रो संविधान सभाको निर्वाचनमा भने सहभागी हुने सोच बनाएँ । कानूनको विद्यार्थी भएकाले पनि संविधान सभामा गएर कानुनी बहसमा सहभागी हुन पनि पाइने, विकास निर्माणका लागि संसदमा टेबल ठोक्न पनि पाइने । स्वास्थ्य र उमेरले पनि पछि साथ नदेला कि भन्ने लाग्यो । तर, त्यो सोच पूरा हुन सकेन, निर्वाचनमा म उपविजेता बनेँ । एमाले नेता विशाल भट्टराई विजयी बन्नुभयो । यसमा पनि म खुशी भएँ । उहाँ र म १६ वर्षसम्म माओवादी विद्रोहको चरमोत्कर्ष कालखण्डमा पनि भोकै तिर्खै जिल्लामा दोडिरहन्थ्यौँ । त्यसकारण म आफू नै विजयी बनेको अनुभूत चैं भयो । उहाँलाई बधाई दिएँ, शुभकामना भनेँ । मेरो जिल्लाको विकास निर्माणमा टेवा पुराउने भित्री उत्कण्ठा, भित्री प्यास अरू बढिरहेथ्यो । जिल्लाको विकास निर्माणको गति सुस्त थियो । जिल्लामा अति धिमा गतिले विकास निर्माणको गतिविधि भइरहेको हो कि, यसरी हुन्न भन्ने मलाई लाग्थ्यो । तर, प्रतिनिधिसभामा जान अन्य साथीहरूको चाहना भएकाले ठीकै छ, म प्रदेशमै गएर खोटाङको विकासमा सरिक हुन्छु भनेँ । यद्यपि, त्यो बेला एमाले र माओवादी गठबन्धनमा रह्यो । केही मतान्तरले म पुनः उपविजेता बनेँ । अत्यन्त शालीन र भद्र नेता आदरणीय रामकुमार राई ‘पासाङ’ निर्वाचित हुनुभयो । मैले बधाई र शुभकामना दिएँ । दोस्रोपटक पनि अनौठो मानिनँ । हार, जीत स्वभाविक हो । यसबीच साथीभाइहरूको म प्रतिको माया, विश्वास र भरोसाले पार्टीको १४ औँ महाधिवेशनमा जिल्ला सभापति बनेँ । यतिखेर म करिब ६० वर्ष पुगि सक्न लाग्दै थिएँ । २०७९ मा पुनः निर्वाचनको चक्र आइपुग्यो । अबसम्म प्रयत्न गरुँ भन्ने लाग्यो । जिल्लाको दुरावस्था आँखा अगाडि झलझली थियो । अग्रजहरू संघमा आकाँक्षी बन्नुभयो । मैले भनेँ – ‘तत्काल मसँग चुनावका लागि यथेष्ट बन्दोवस्त पनि छैन । र, काम गर्न जस्तोसुकै प्लेटफर्म भए नि हुन्छ म प्रदेशमै निर्वाचन लड्छु ।’ अरू महानुभावहरू संघमा । अनि म, सुमनबावु, शम्भु कार्की, लोकेन्द्र राई प्रदेश सिफारिसमा सन्तुष्ट रह्यौँ । प्रदेश समितिलाई पेश गर्न सिफारिस पत्रहरू प्रदेश समिति सदस्य लोकेन्द्र राईजीलाई हस्तान्तरण गरेँ । पार्टी कार्यालयमा सामूहिक तस्बिर पनि खिचियो । अति उत्साह र उर्जा थियो त्यो बेला पनि । संयोगले प्रदेश जिल्लाको ‘ख’ क्षेत्रमात्र गठबन्धनीय भागमा पर्यो । खोटाङ अन्यायमा पर्यो भन्ने सबैलाई लाग्यो । मैले सोँचे नेताहरूको बाध्यता पनि कस्तो त १ खोटाङमा एउटा प्रदेशमा मात्र रूख पाइने । अर्को मनले सोँचे– प्रदेश ‘ख’ मा चैँ सभापति नै भएकोले भाग पर्या होला । चुनाव त लड्नैपर्छ, आफन्त साथी भाइहरूसँग फोन सम्पर्क गर्न थालेँ । सबैले सकारात्मक जवाफ दिनुभयो । तर सचेत पनि गराउनुभयो – कुन्नि है, अरूले पो टिकट उछिटाउँदैछन् भन्ने सुन्छु । को छ रे नि त, माथि बलियो मान्छे नाता भएको । हो, उसैले टेबल ठोक्दैछ रे नि ! आफ्ना मानिसलाई टिकट दिलाउँन ! मैले भनेँ – वाहियात हो, काँग्रेसमा यस्तो हुँदैन । हामी त्यो पदका सिफारिस भएमध्ये जो भए पनि विरोध गर्न मिल्दैन । तर, सिफारिस नभएकालाई दिन विधानले नै मिल्दैन । तब उनी विश्वस्त बने । तर विडम्वना ! काँग्रेसमा पनि चल्दो रहेछ ‘फरिया राजनीति’, व्यवहारमा मैले नै भोगेँ । अब भने शीर्ष नेतृत्वहरूप्रति पनि केही वितृष्णा पलाएकै हो । टिकट वितरणको भोलिपल्ट खोटाङका असन्तुष्ट समूहले विज्ञप्ति निकाल्यो, खोटाङमा रूखबाहेक संघ र प्रदेशमै विद्रोह गर्ने । त्यस पछाडि सबै भन्न परेन ! खोटाङमा काँग्रेसको एउटा सँस्कृति मौलाउने निश्चित छ अब । एउटा सँस्कृति जे गरेर हुन्छ टिकट हत्याउने । एउटा लडाई हुन्छ – जिल्लाले सिफारिस गरे बाहेक नातावाद, फरियावाद, चाकडी, चाप्लुसी, नेताको घरको ढोका कुरेर होस सिफारिस नभए पनि टिकट भए हुन्छ । म त्यही लडाईँको एउटा कित्तामा छु, एउटा किनारमा छु । नेताहरूले आफ्नोलाई च्यापेर जस्केलाबाट टिकट दिने प्रवृत्तिको घोर विरोधी हुँ म । अन्याय अत्याचार, नातावाद, फरियावाद काँग्रेसमा मौलाए आगामी २०८४ सालमा पुनः यस्तै विकृति दोहोरिएछ भने धारा होइन प्रतीकात्मक चुनाव चिह्न सशक्त विद्रोह हुनेछ । तर, जिल्लाको सिफारिस मुताविक टिकट पाएका जो सुकै होस्, रूख चुनावका उम्मेदवारलाई काँधमा बोकेर प्रचार प्रसारमा लाग्नुपर्छ । फेरि भन्छु – जो जसलाई जुन तहमा सिफारिस भएको छ, उसले त्यही उम्मेदवारीको टिकटमा दावा गर्ने हो, ‘चिचिको पनि लोभ पापाको पनि लोभ’ गरेर बिरालोले तर मारेजस्तो गर्ने प्रवृत्तिको म घोर विरोधी हुँ । सबैले ख्याल के गर्नुपर्छ भने, विकासको नाममा सँस्कार, पद्दति र समवयको सिद्धान्त मर्यो भने त्यो विकासको के काम । बीपीले विकास गर्ने नाममा प्रजातन्त्रको गला रेटिएको हेर्न नचाहनुकै कारण आजीवन सत्ताबाहिर जेलभित्र रहनुपर्यो । तत्कालीन राजाबाट बीपीलाई पटकपटक प्रधानमन्त्रीको अफर नआएको होइन । केही नादान भाइहरू कुनै बाध्यताले हो वा उसकै काँचो कलिलो बुद्दिले हो, बिष्णु राई यो रिसले उ पीडाले यस्तो लेखेछ भनेर प्रतिक्रिया जनाउँछन् । उनीहरूलाई हामीले भ्रमको पर्दाबाट बाहिर निकाल्न हदैसम्म प्रयत्न गर्नुपर्छ । म गर्नेछु ! (विष्णु आभूषण नेपाली कांग्रेस खोटाङका जिल्ला सभापति हुन् । यो उनको निजी विचार हो ।)

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार