बुटवल । लुम्बिनी प्रदेशबाट माओवादी र जनमत पार्टी बाहिरिएका छन् । नेकपा माओवादीबाट सरकारमा सहभागी तीन मन्त्रीले राजीनामा दिएका छन् ।
सरकारलाई दिएको समर्थन फिर्ता लिन आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, भौतिक पूर्वाधार विकास मन्त्री ईन्द्रजीत थारु र आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्री कृष्णा केसीले मन्त्री पदबाट राजीनामा दिएका हुन् ।
संसदीय दलका नेता एंव आर्थिक मामिला मन्त्री जोखबहादुर महराले केन्द्रको निर्णयअनुसार सरकारबाट बाहिरिएको जानकारी दिए ।
यस्तै जनमत पार्टीका मन्त्रीले पनि राजीनामा दिएका छन् । जनमतबाट मन्त्री बनेका सामाजिक विकास मन्त्री चन्द्रकेश (सिके) गुप्ताले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राजीनामा दिएको जानकारी दिए ।
माओवादीको राजीनामासँगै एमालेबाट निर्वाचित मुख्यमन्त्री लिला गिरी नेतृत्व सरकार अल्पमतमा परेको छ । अब गिरीले राजीनामा दिने कि विश्वासको मत लिने दुई विकल्प रहने छन् । गिरी गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
गिरीलाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ गरी प्रदेशसभाका १० मध्ये ७ दलका ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । कांग्रेसका २७, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १-१ संसदले भने विपक्षमा थिए ।
लुम्बिनीमा ८७ सदस्यीय प्रदेश सांसद छन् । सरकार गठनका लागि भने ४४ सांसदको बहुमत भए पुग्छ ।
यसैबीच, लुम्बिनी प्रदेश सरकारको समर्थनमा रहेका सबै दलले समर्थन फिर्ता लिँदै नयाँ सरकार गठनको तयारी गरेका छन् ।
गठबन्धनमा आबद्ध दलका तर्फबाट सरकारमा सहभागी भएका दलहरु सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने तयारी रहेको लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश संसदीय दलका नेता सन्तोष कुमार पाण्डेले जानकारी दिए ।
यसैगरी गठबन्धनमा आबद्ध दलहरुले आजै बहुमत सदस्यहरुको हस्ताक्षरसहित नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखलाई आह्वान गर्ने भएका छन् ।
गठबन्धनमा रहेका ५२ सांसदहरुको हस्ताक्षर संकलन भइसकेको र नयाँ सरकार गठनका लागि उक्त हस्ताक्षर प्रदेश प्रमुखसमक्ष पेस गरिने पाण्डेले जनाए ।
प्रतिक्रिया