इलाममा चिया कारखानामा भीषण आगलागी, करोडौँको क्षति

बुधबार, १४ फागुन २०८१
इलाम : इलाम नगरपालिका–४ मा सञ्चालित जस्बिरे टी कारखाना भीषण आगलागीबाट पूर्ण रूपमा नष्ट भएको छ। व्यवसायी सरद सुब्बाद्वारा सञ्चालित उक्त उद्योग गए राति आगलागी हुँदा खरानीमा परिणत भएको हो। सञ्चालक सुब्बाका अनुसार अचानक आगो लाग्दा कारखानासँगै बिक्रीका लागि राखिएको चिया, प्रशोधन गर्ने मेसिनलगायत सबै जलेर नष्ट भएका छन्। आगलागी देखेपछि स्थानीय, प्रहरी र इलाम नगरपालिकाको दमकल आगो निभाउने प्रयासमा जुटे पनि सामग्रीहरू जोगाउन सकेनन्। उद्योगले नेपालकै उत्कृष्ट चिया उत्पादन गर्दै आएको थियो। केही समयअघि यसले "बेस्ट टी मेकर" को अवार्डसमेत जितेको थियो। यस उद्योगबाट उत्पादन भएको चिया अमेरिका, डेनमार्क, नेदरल्यान्डलगायतका देशहरूमा निर्यात हुँदै आएको थियो। अग्नि दुर्घटनाले कारखानाको सम्पूर्ण भवन, मेसिनहरू, तथा बिक्रीका लागि राखिएको करोडौं रुपैयाँ बराबरको चिया नष्ट भएको छ। प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करिब सात करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ। वार्षिक ३० हजार किलो चिया उत्पादन गर्दै आएको उद्योग एकै रातमा ध्वस्त हुँदा व्यवसायी सुब्बा स्तब्ध बनेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार