पछि ठहरे बमोजिम हुने भन्दै अबैध कारोबार आरोपमा पक्राउ परेका ज्वेलर्स सञ्चालक छुटे

मंगलबार, २० फागुन २०८१
विराटनगर : कानुन विपरीत वित्तीय कारोबार गरेको आरोपमा पक्राउ परेका विराटनगरका सुनचाँदी व्यवसायी पवन श्रेष्ठ छुटेका छन् । जिल्ला अदालत मोरङले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले धरौटीबापत १ लाख ५० हजार रुपैयाँ लिएर तारेखमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । उनका अनुसार आदेश लगत्तै धरौटीबापतको रकम बुझाएर श्रेष्ठ छुटेका छन् । तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरे बमोजिम हुने गरी धरौटीबापतको रकम लिएर तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न इजलासबाट आदेश भएको हो । विराटनगर–७ मेन रोडमा चाँदनी गहना सो–रुम नाम दिएर ज्वेलर्स सञ्चालन गर्दै आएका श्रेष्ठलाई मोरङ प्रहरीले माघ २१ गते सुनसरीबाट पक्राउ गरेको थियो । प्रहरीका अनुसार सर्वसाधारणको करोडौँ रुपैयाँ ठगी गरेर उनी फरार भएका थिए । प्रहरीले अनुसन्धान सकेर मिसिल ९अनुसन्धान प्रतिवेदन० बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालय मोरङले अभियोग पत्र तयार पार्दै श्रेष्ठलाई प्रतिवादी बनाएर गत आइतबार मोरङ अदालतमा ठगी मुद्दा दर्ता गरेको थियो । अदालतमा बयान सकिएपछि वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबिच थुनछेक बहस सकिएर इजलासबाट आदेश आएको सूचना अधिकारी बुढाथोकीले बताए । श्रेष्ठविरुद्ध ४५ जना पीडितले मोरङ प्रहरीमा किटानी जाहेरी दिएका थिए । अनुसन्धानबाट ५ करोड ६९ लाख ८४ हजार ४ सय ५७ रुपैयाँ उनले ठगी गरेको पत्ता लागेको थियो । ठगी गरेको रकम फिर्ता हुनुपर्ने माग दाबीसहित श्रेष्ठलाई थुनामा राख्नुपर्ने माग गरेर वकिल कार्यालयले मुद्दा दायर गरेको भए पनि अदालतको मागेको धरौटीबापतको डेढ लाख रुपैयाँ बुझाएर उनी छुटेका छन् । सुनचाँदीको कारोबारका नाममा ‘पास बुक’मार्फत वित्तीय कारोबार गरी सर्वसाधारणको लाखौँ रुपैयाँ ठगी गरेर पसल बन्द गरी श्रेष्ठ फरार भएको प्रहरीको भनाइ छ । सर्वसाधारणलाई आकर्षक ब्याजको लोभ देखाएर ज्वेलर्सबाटै श्रेष्ठले कानुन विपरीत वित्तीय कारोबार गर्दै आएको अनुसन्धानबाट पत्ता लागेको छ । प्रहरीका अनुसार श्रेष्ठले एकै व्यक्तिबाट १९ लाख रुपैयाँभन्दा बढी ठगी गरेको पाइएको छ । वित्तीय संस्था तथा बैङ्कबाट गर्नुपर्ने कारोबार लामो समयदेखि विराटनगरका सुनचाँदी पसलबाट भइरहे पनि नियमन र नियन्त्रणका लागि सम्बन्धित निकायले चासो दिएका छैनन् । वित्तीय संस्थाजस्तै ‘पास बुक’ राखेर ज्वेलर्सबाट गरिने कारोबारका कारण सर्वसाधारणको लाखौँ रुपैयाँ जोखिममा परेको छ । कतिपयको ठुलो रकम डुबेको छ । वित्तीय कारोबारका लागि नेपाल राष्ट्र बैङ्कबाट अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था छ । सुनचाँदी पसलले यो कारोबार गर्नै पाउँदैनन् । तर, विराटनगरका सुनचाँदी पसलले भने अवैध रूपमा आर्थिक एवं वित्तीय कारोबार गरिरहेका छन् । अवैध हिसाबले वित्तीय कारोबार गरी सर्वसाधारणबाट ठगी गरेको रकम भने श्रेष्ठले घरजग्गा खरिदलगायतका व्यक्तिगत प्रयोजनमा खर्च गरेको अनुसन्धानबाट पत्ता लागेको छ । सर्वसाधारणले अलि धेरै ब्याज पाउने लोभमा सुनचाँदी पसलमा पैसा राख्ने गरेको प्रहरीको निष्कर्ष छ । सुनचाँदी पसलबाट अवैध हिसाबले गरिने वित्तीय कारोबार सर्वसाधारणका लागि अति नै जोखिमपूर्ण हुने प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार