बस्तीमा पसेका वन्यजन्तुलाई कसरी गरिन्छ ‘डार्ट’ प्रयोग ?

मंगलबार, २० फागुन २०८१
इटहरी : सोमबार बिहान सप्तरी डिभिजन वन क्षेत्रबाट उद्दार गरिएको बाघ अहिले कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रभित्र राखिएको छ । बाघको सुरक्षाका लागि नेपाली सेना खटिएका छन् । तर, आरक्ष क्षेत्रमा ल्याउनुपूर्व सप्तरीको फत्तेपुर बजारबाट बाघको उद्दार गर्न प्राविधिक टोलीलाई निकै सकस पर्यो । स्थानीयबासीले बाघलाई मार्नुपर्ने अडान लिइरहेका थिए । जसले पनि प्रष्ट हुन्थ्यो – मानिसले वन्यजन्तुप्रति गर्ने व्यवहार । उक्त बाघको उद्दार गरी संरक्षण गर्नुपर्ने बताउँदा आरक्षका कर्मचारी र सुरक्षाकर्मीमाथि नै दुुव्र्यवहारसम्मको अवस्था भएको थियो । जसकारण बस्तीमा देखा परेको बाघको उद्दार गर्न झण्डै १२ घण्टा लाग्यो । राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमका अनुसार बाघ जंगलबाटै आएकाले फेरि फर्केर जाने वातावरण नहुँदा गोठभित्र लुकेर बसेको थियो। दिनभर बाघ गोठमै पसेपछि घटनास्थलबाट सुरक्षाकर्मी र स्थानीयबासीले होहल्ला गरेपछि स्थानीय भरत विष्टको घरभित्रै बाघ पसेको थियो। घरभित्र थुनेर राखिएपछि ‘डार्ट’ प्रविधिको प्रयोग गरी उद्दार गरिएको हो । उनका अनुसार बस्तीमा पसेर मानिसलाई नै आक्रमण गर्नसक्ने जोखिम भएपछि प्राविधिक टोलीले वन्यजन्तुको उद्दार गर्छ । बस्तीमा पसेको वन्यजन्तुलाई गनबाट मेडिसियन पास गरेर लठ्याइन्छ । मेडिसिनको मात्राअनुसार धेरैमा एक घण्टासम्म लठ्याउन सकिन्छ । लठ्याएर उद्दार गरेपछि एन्टी डट दिएर ब्यूँझाइने गौतमले बताए । ‘वन्यजन्तुबारे कुनै काम गर्नुप¥यो भने त्यो समयमै गर्नुपर्छ,’ संरक्षण प्रमुख गौतम भन्छन्, ‘लामो समय बेहोस बनाउनै मिल्दैन, तत्कालै एन्टी डट दिएर ब्यूँझाइन्छ । ‘डार्ट’ प्रविधि भनेको खर्चिलो प्रविधि हो । एकपटक डार्ट प्रयोग गर्दा महंगो खर्च आउँछ ।’ उनका अनुसार ‘डार्ट’ प्रविधिका लागि प्रयोग हुने औषधी नेपालमा पाइदैँन । नेपालमा उपलब्ध नहुँदा बाहिरबाटै औषधी ल्याउनुपर्दा खर्च हुने उनको भनाइ छ । डार्ट प्रयोग गरेको अवस्थामा वन्यजन्तुलाई कसैले हिर्काएको अवस्थामा उसको निधन हुनसक्ने भएकाले बाघको संरक्षणका लागि आरक्षको टोलीले सावधानी अपनाउँदा उक्त बाघको उद्दार सफल भएको गौतम बताउँछन् । अनुसन्धानकर्ताहरूका अनुसार पछिल्लोपटक मधेस प्रदेशको रौतहटमा मात्रै बाघ देखा परेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले गरेको अध्ययन अनुसार रौतहट क्षेत्रभन्दा पूर्वमा हालसम्म बाघ देखा परेको थिएन । उक्त बाघ अन्दाजी सात वर्षको उक्त पोथी बाघ करिब एक सय ३१ केजीको छ । उक्त बाघलाई अहिले आरक्ष क्षेत्रभित्र फलामको बक्साभित्र थुनेर राखिएको छ । तत्कालका लागि उक्त बाघलाई पानी मात्रै खान दिइएको छ । खासगरी एउटा बाघले सिकार गरेको एक सातादेखि १० दिनसम्म उसलाई सिकारको आवश्यक नपर्ने गौतम बताउँछन् । ‘बाघले एकपटक आहारा गरेपछि सात दिनदेखि १० दिनसम्म नखाइकन बस्न सक्छ,’ उनले भने, ‘त्यसबीचमा बाघले प्रायः सिकार गर्दैन । पहिल्यै गरेको सिकार खाने, राख्ने, खाने गर्छ ।’ बस्तीमा पसेको बाघलाई उद्दार गर्नु ठूलो कुरा नभएपनि मानिसको भीडका कारण प्रभावित हुने उनको भनाइ छ । बाघको उद्दारमा खटिएका संरक्षण अधिकृत मिथिलेश महतोका अनुसार उक्त बाघलाई कोशी टप्पुमै राख्ने वातावरण नहुँदा कहाँ लैजाने भन्नेबारे निर्णय हुन बाँकी छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार